आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बालिका अधिकारको संरक्षणमा सरोकारवालाको जोड

    प्रकाशित २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि)


ललितपुर। डिजिटल पुस्ताः हाम्रो पुस्ता” नाराका साथ अक्टोबर ११ का दिन मनाईने अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ को अवसरमा ललितपुरमा बालिकाको आवाज, वयस्कको दायित्व विषयक छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा सातै प्रदेशबाट बालिकाको प्रतिनिधित्व गर्दै रेजीना घर्ती मगर, अनमोल राई, सुचित्रा चौधरी, सपना खड्का, र्कितिका खड्का, मुस्कान खातुन, नेहा कुमारी शर्मा, निमा तामाङ्ग, शिला नेपालीले सामाजिक मूल्यमान्यताको कारणले यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाले विभिन्न समस्याहरु भोगिरहेका र पहिचान लुकाउनु परेको, अपाङ्गता भएका बालबालिकाप्रतिको विभेद, साइबर कानूनका सिमितताहरु, समाजमा रहेको खराब अभ्यासहरु, बाल विवाह, बलात्कार, एसिड आक्रमण, हिंसा, दुर्व्यवहार, महिनावारी सरसफाई, रुढिवादी परम्पराहरु लगायतका कारणले बालिका तथा किशोरीहरुले भोग्नु परेका कठिनाईहरुलाई सम्बोधन गर्न सरोकारवालाले निर्वाह गर्नुपर्ने भूमिका थप प्रभावकारी बनाउन जोड दिएका थिए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष माननीय कमला पराजुली, राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन राज धरेल, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट कमला दहाल, राष्ट्रिय योजना आयोगकी शुशिला कुमारी पन्थ र नेपाल प्रहरीका किरणप्रकाश मल्लले सहभागीहरुको जिज्ञासा तथा सवाललाई सम्बोधन गर्दै विद्यमान समस्याहरुको बारेमा सरकार सचेत रहेको र समाधानको लागि आवश्यक कानुन, नीति, बजेट तथा कार्यक्रमको व्यवस्थामा सक्रिय भई काम गरिरहेको जानकारी गराउनु भयो । साथै अनलाइन सुरक्षा निर्देशिकाको मस्यौदा तयार भईरहेको बताउँदै उजुरी गर्दा लाग्ने लामो समयलाई थप सहज र छिटोछरितो गराउने तयारी थालनी गरिएको कुरा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताउनु भएको थियो भने आयोगकी अध्यक्ष कमला पराजुलीले बालिकाहरुको सवालमा महिला आयोग प्रतिवद्ध रहेको धारणा राख्दै बालिका तथा किशोरी संरक्षणका लागि सबै सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्लान इन्टरनेशनलकी सिर्जना बर्जाचार्यले नेपालमा अन्लाइन मार्फत बालिका तथा किशोरीमा परेको प्रभाव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ५५% बालिकाले दिनको सात घण्टाभन्दा बढि समय अनलाइनमा बिताउने, ९१% बालिका अनलाइन न्यूजबाट प्रभावित तथा चिन्तित रहेको र अनलाइन मार्फत गलत सूचनाको कारणले ४ जनामध्ये १ जना बालिकाको आत्मविश्वास कम भएको जानकारी गराउँदै समाजिक संजाललाई प्रतिबन्ध लगाउनुभन्दा पनि सुरक्षित बनाउनु सबैको दायित्व रहेको बताउनु भयो ।

बालिका अधिकारका लागि राष्ट्रिय संजाल तथा जागृति बाल तथा युवा सरोकार नेपालले युनिसेफ, प्लान इन्टरनेशनल, क्यानालानको सहयोगमा तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, समाजिक सुरक्षा नागरिक समाज संजाल, लायन्स क्लब अफ काठमाडौँ चाइल्ड राइट्स, वोल्र्ड भिजन इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, स्वतन्त्रता अभियान, साथी, हामी लगायतका संस्थाहरुको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा संजालका संयोजक तिलोत्तम पौडेलले कार्यक्रममा सबै सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । सोही समारोहमा प्रत्येक वर्ष ताइवानको द गाडेन अफ होप फाउण्डेशनले एसियन गल्स एम्बासडर कार्यक्रम आयोजना गर्ने गरेको छ । यस वर्षको एसियन गल्स अवार्ड कार्यक्रममा नेपालका तर्फबाट दिपिशा भुजेल र रेजिना घर्ति मगरलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो ।

१९ डिसेम्बर २०११ मा बसेको संयुक्त राष्ट्र संघीय साधारण सभाको विशेष प्रस्ताव (Resolution) ६६/१७० अनुसार सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ तारिखका दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने निर्णय गरेको थियो । सन् १९९५ मा बेइजिङमा भएको महिलासम्बन्धी विश्व सम्मेलनको बेइजिङ घोषणापत्रले महिला तथा बालिकाहरुको अधिकारको उठान गरेको थियो भने बालिका दिवसको अभियान “किनभने म बालिका हुँ” भन्ने अवधारणाका साथ सुरुवात भएको थियो । विशेष गरी बालिका अधिकारको मान्यतालाई स्थापित गर्न र विश्वभरका बालिकाहरुले भोग्नु परेको चुनौतीलाई सामना गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । यो दिवसको अवसरमा संसारभरी बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरीबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने उद्देश्य सहित यो दिवस मनाउँदा बालिकाहरुको भविष्य उज्ज्वल हुने तथा बालिका सशक्तिकरणको मूल अभिप्राय भएका कारण हाल विश्वभरी नै यस दिवसका उपलक्ष्यमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारा कायम गरी मनाउने प्रचलन रहेको छ । सोही अनुरुप विश्वमा नै विज्ञान, प्रविधि, इन्जिनियरिङ, म्याथम्याटिक्स लगायतका प्राविधिक विषय वस्तुमा बालिकाहरूको पहुँच कम भएको तथा बालिकाहरूलाई प्राथमिकतामा नपरेका कारण यस वर्षको बालिका दिवसको अन्तर्राष्ट्रिय नारा “Digital Generation : Our Generation” (डिजिटल पुस्ताः हाम्रो पुस्ता) साथ मनाउन लागिएको छ । सप्ताहव्यापी रूपमा मनाइने यस दिवस यसवर्ष हिन्दुहरूको महान् चाड दशैँको समयमा परेको हुनाले सोही सन्दर्भमा अगावै मनाइएको हो । संचारकर्मी रुपा खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा आयोजक तथा नागरिक सङ्गठनको तर्फबाट बालहिंसा बिरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूहकी अध्यक्ष बेनु माया गुरुङले किशोरीमैत्री डिजिटल अभियानको लागि आह्वान र धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

Write your Comment