आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुल्ला

    प्रकाशित २०७८ आश्विन १७, आईतबार (२ साल अघि)

डि आर क्षेत्री । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि ठप्प रहेकाे चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुल्ला गरिएको छ । हरेक वर्ष वर्षायाममा बाटाे तथा अन्य कारणले बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाख देखि नै बन्द भएको थियाे ।दसैं तिहार जस्ता पर्वहरुकाे बिचमा पर्यटकीय गतिविधि खुल्ला भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुल्ला गरिएको जानकारी दिनुभयो । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उहाँले बताउनुभयो । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ ।

निकुञ्ज बाहिर रहेका नवलपुरमा शिसवार करिडाेर , नमुना सामुदायिक वन तथा अमलटारी क्षेत्र , चितवनमा कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्र पर्यटकिय गतिविधि सञ्चालनमा रहेका छन् ।

निकुञ्जका गतिविधि खुल्ला भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेकाे पर्यटन विकास समितिका अध्यक्ष बिनबहादुर जि एमले बताउनुभयो ।अध्यक्ष जि एमले एक पटक यस क्षेत्रकाे पर्यटकीय गतिविधिकाे अवलाेकनका लागि समेत आग्रह गर्नुभएको छ ।
यहाँ आउने पर्यटक मुख्यरूपमा जंगल सफारी , हात्ती सफारी जस्ता पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक यहाँ आउने गर्दछन् ।

Write your Comment