आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024 Search
FLASH NEWS

नवलपुर मदिरा संघद्वारा नयाँ दर–रेट सार्वजनिक, व्यवसायीको हितमा सबै एकजुट बन्ने घोषणा

    प्रकाशित २०७८ भाद्र १८, शुक्रबार (२ साल अघि)


गैंडाकोट । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ कावासोतीले विविध अन्तरकृया तथा दर–रेट सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७८–०७९ का लागि जिल्लाभर समान दर–रेट कायम गरी स्वच्छ र व्यवसायिक रुपमा व्यवसाय संचालन गर्न सहायता पुर्‍याउने उद्धेश्यले नयाँ दर–रेट सार्वजनिक गरी वितरण गरिएको संघका सदस्य एवं अधिकारी स्टोर्स गैंडाकोटका प्रोपाराईटर मुक्तिनाथ अधिकारीले जानकारी दिनुभएको छ ।
करिब ६ महिना अघि विधिगत दर्ता भई विभिन्न रचनात्मक कृयाकलाप गर्दै आएको संघले आइतबार पुर्वी नवलपुरको गैंडाकोटमा औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ दर–रेट सार्वजनिक गरेको छ । सोही क्रममा आयोजित अन्तरकृया कार्यक्रमका अधिकाशं वक्ताहरुले यस क्षेत्रका व्यवसायीहरुको हकहितका निम्ति व्यवसायीहरु एकजुट भई नयाँ दर–रेटलाई अनिवार्यरुपमा कायम गर्ने, सम्बन्धित क्षेत्रको वितरकसँगै सामान खरिद गर्ने, बिल बिजक अनिवार्य रुपमै जारी गर्ने, नेपाल सरकारले तोके बमोजिम र प्रचलित नियमअनुसार नै व्यवसाय संचालन गर्ने जस्ता कार्य गरी स्वच्छ र सभ्य रुपमा व्यवसाय गर्ने निर्णय भएको स्थानीय क्षेत्रका व्यवसायी एवं रोज रिभर वाईन सपका प्रोप्राइटर कमलनारायण न्यौपानेले जानकारी दिनुुभएको छ ।
कार्यक्रममा स्थानीय क्षेत्रमा रहेका विभिन्न ब्राण्डका आधिकारिक वितरक, कम्पनिका बजार प्रतिनिधि, संघमा आबद्ध व्यवसायीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अन्तरकृया कार्यक्रममा बोल्दै माताकालिका सप्लायर्सका संचालक पुर्णप्रसाद शर्मा खरालले यस क्षेत्रमा दर–रेट कायम गर्नु नै अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको भएपनि सबैको साझा प्रतिबद्धताले सबै समस्याको निराकरण हुने धारणा राख्नुभएको थियो । उहाँले स्थापनाकालदेखि नै व्यवसायीको हकहितका निम्ति आफुहरु प्रतिबद्ध रहेको स्पष्ट पार्दै आगामी दिनमा थप प्रभावकारी सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अग्रज व्यवसायी टिकाराम गिरीले विगतमा आफुले वितरकका रुपमा कार्य गरेको अनुभव साट्दै कम्पनी र कम्पनी प्रतिनिधिको प्रवृत्तिले विगतमा वितरक हुँदा हैरानी खेपेको अनुभव साट्नुभयो । उहाँले कम्पनिले व्यापारलाई मात्र ध्यान दिई व्यवसायीको लगानीबारेमा पुर्ण बेवास्था गर्ने गरेको आरोप लगाउनुभयो । कम्पनि र वितरकको विचको सम्बन्धले गर्दा डिलर (वितरक) अत्यन्तै पिडामा रहने गरेको आफ्नो अनुभव साट्दैै उति बेला तेरो घरमा डिलर पसोस्’’ , भन्ने युक्ति सान्दर्भिक बनेको दाबी गर्नुभयो । फरक प्रसंगमा उहाँले यस क्षेत्रमा आबद्ध सबै वितरकहरुलाई व्यवसायीप्रति समानरुपमा व्यवहार गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै गणपति प्रोभिजनल स्टोर्स गैंडाकोटका संचालक जीवन रेग्मीले बाह्र वर्षीय अनुभव साट्नुभएको थियो । उहाँले प्रचलित नियम कानुन बारेमा ध्यान दिइ अघि बढ्न नयाँ पुस्तालाई प्रेरणा दिनुभएको थियो । कार्यक्रममा हिमालयन ब्रुअरी प्रालि तथा त्रिशक्ति डिस्टिलरी प्रालिका क्षेत्रीय बजार प्रबन्धक शिवप्रसाद पौडेलले बोल्नुहुँदै आफुहरुको चाहना भन्दा पनि कम्पनिको नियमअनुसार बजारमा प्रस्तुत हुने गरेको स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा सार्थक सप्लायर्स गैंडाकोटका संचालक सन्दिप तिवारी, न्यु मौलाकालिका सप्लायर्सका प्रोप्राईटर लेखनाथ पराजुली, हिमालय ब्रुअरी प्रालिका बजार प्रतिनिधि भिम दाहाल लगायतले धारणा राख्नुभएको थियो ।
यसैबीच संघले जिल्ला भरका व्यवसायीलाई लक्षित गर्दै कर सम्बन्धि एक दिवसिय कार्यशाला तथा प्रशिक्षण कार्यक्रम छिट्टै आयोजना गर्ने जनाएको छ । संघका सदस्य बिमल लम्सालले सहजीकरण गरेको कार्यक्रम संघका सदस्य मुक्तिनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Write your Comment