आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

स्वास्थ्य बीमा दर्ता सहयोगीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ध्यानाकर्षण पत्र

    प्रकाशित २०७८ श्रावण ४, सोमबार (२ साल अघि)


सृजना कंडेल, नवलपुर ।
नवलपरासी ( वर्दघाट सुस्ता पुर्व) नवलपुरका स्वास्थ्य बीमा आबद्ध आम बीमितले जिल्लाभित्रका सेवा प्रदायक अस्पतालमा औषधी लगायत अन्य सेवा सुविधा नपाएपछि जिल्लामा रहेका स्वास्थ्य बीमामा दर्ता सहयोगीहरुले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

बीमामा आबद्ध आम बीमितले गत जेष्ठ १ गतेदेखि सेवा सुविधा पाउनुपर्ने प्रावधान रहेता पनि श्रावण ३ गतेसम्म पनि सेवा प्रदायक अस्पतालबाट आवश्यक सेवा सुविधा नपाएपछि आईतबार जिल्लामा रहेका दर्ता सहयोगीहरुले सेवा प्रदायक अस्पतालले तत्कालै सेवा सुविधा प्रदान गर्न आवश्यक निर्देशन दिन आग्रह गर्दै उक्त ध्यानार्कषण पत्र बुझाएका हुन्। जेष्ठ महिनादेखि सेवा प्रदायक अस्पतालबाट बीमीतले पाउनुपर्ने सुविधा नपाएपछि बीमितहरु गुनासो लिएर दर्ता सहयोगी समक्ष आउने गरेकाले दर्ता सहयोगी समेत समस्यामा परेको देवचली ९ का स्वास्थ्य बीमा दर्ता सहयोगी होमनाथ पौडेलले बताउनुभयो । अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा बीमितले नपाएपछि दर्ता सहयोगीहरु बीमाको निम्ति घरदैलो कार्यक्रमलाई निरन्तरता दिन समेत असमर्थ रहेको पौडेलले बताउनुभयो । आम नागरिकहरुलाई बीमामा आबद्ध गराँउदा उपचारमा पाउने आवश्यक सेवा सुविधाबारे जानकारी गराएर बीमा गर्न अभिप्रेरित गरिएतापनि २ महिनासम्म पनि सेवाप्रदायक अस्पतालबाट बिमितले सेवासुबिधा नपाएपछि आफुहरु समेत मर्कामा परेको मध्यबिन्दु १२ का दर्ता सहयोगी सुशिलकमार तामाङ्गले बताउनुभयो । त्यस्तै, ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले बीमितले पाउनुपर्ने औषधी लगायत सेवा सुविधा उपलब्ध गराउन सेवा प्रदायक अस्पताललाई तत्काल निर्देशन दिई कार्यान्वयन प्रकृया प्रभावकारी बनाउने बताउनुभयो । त्यस्तै उहाँले स्वास्थ्य बीमा आम नागरिकको लागी महत्त्वपूर्ण कार्यक्रम रहेको हुँदा यसलाई सफल पार्नका निम्ति सेवाप्रदायक अस्पताललाई निर्देशन/अनुगमनका लागि प्रशासन लागि पर्ने बताउनुभयो ।

बीमामा आबद्ध बीमितहरुले सेवा प्रदायक अस्पतालबाट जेष्ठ १ गतेदेखि सेवा सुविधा पाउने गरि स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुसँग सम्झौता भएपनि साउन ३ गतेसम्म पनि बीमितहरुले औषधी लगायत आवश्यक सेवा सुविधा पुर्णरुपमा नपाएको स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक जायश्वर भुसालले बताउनुभयो। बीमाबारे अस्पतालका कर्मचारीलाई भर्चुअल माध्यमबाट तालिम प्रदान गरिएता पनि प्रभावकारी नभएको मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताउनुभयो । जेष्ठ, असार महिनामा बीमितले अस्पतालबाट लिएको सेवा सुविधाको रकम माग गर्दा बीमा बोर्डले रकम नपठाएको ,अस्पतालमा दक्ष जनशक्ति अभाव, आवश्यक पुर्वाधार विकासको काम प्रकृयारत रहेको हुदाँ बीमितले पाउनुपर्ने औषधी लगायत सेवासुविधामा ढिलाई भएको सूचना अधिकारी सुबेदीले बताउनुभयो । त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बीर बहादुर थापाले बीमा बोर्ड र अस्पतालकाबीच भएको समस्या हल गरी समन्वयात्मक भुमिकाको माध्यमबाट बीमितलाई आवश्यक सेवा सुविधा प्रदान गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । साउनदेखि औषधी उपलब्ध गराउने लक्ष्य लिएता पनि अस्पतालमा कोभिडका बिरामीको बढ्दो संख्या,कर्मचारी अभाव ,औषधी खरिदका निम्ति टेण्डर प्रकृयामा जानुपर्ने लगायतका समस्याले गर्दा बीमितले पाउनुपर्ने सेवा सुविधा केही समय ढिलो भएको मे.सु. थापाले बताउनुभयो । त्यस्तै उहाँले अस्पतालमा देखिएका समस्या हल गरी साउन १० गतेदेखि बीमितलाई आवश्यक औषधी उपलब्ध गराउने बताउनुभयो।
तत्कालै स्वास्थ्य बीमा दर्ता सहयोगी जिल्ला भित्रका अन्य सेवा प्रदायक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गएर समेत खबरदारी गर्ने तयारीमा छन् ।

Write your Comment