आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

सिजीमा आगलागी प्रकरण : क्षति विवरण अझै अज्ञात

    प्रकाशित २०७८ अषाढ १९, शनिबार (२ साल अघि)


खगेन्द्र पराजुली , नवलपुर । चौधरी उद्योगमा लागेका आगोलागी भएको एक महिना पुगिसक्दा पनि क्षति विवरण एकिन भएको छैन । सामान्यतया घटना–दुर्घटनाको मुचुल्कासहित प्रहरी प्रशासन तथा स्थानीय सरकारले समेत अद्यावधिक गरिसक्नुपर्ने क्षतिसहितको विवरण अहिलेसम्म यकिन नहुँदा चासोको बिषय बनेको छ ।
प्रहरीले आगो निभाउने काममा सहयोग गर्नेदेखि क्षति विवरण संकलनसम्म गर्ने गर्दछन् । तर, चौधरी उद्योगमा आगो लाग्दा कति क्षति भयो भन्ने मुचुल्कासमेत अहिलेसम्म तयार नभएको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख प्रहरी निरीक्षक नवीन थापा बताउँछन् ।
‘हाम्रो काम के कति क्षति भयो त्यो पनि संकलन गर्ने र माथिल्लो निकायमा पठाउने पनि हो तर, उद्योगले यसबारे जति माग्दा पनि जानकारी दिएको छैन । मलाई माथिबाट क्षति विवरण पेश गर्नु भन्ने बारम्बार आदेश आइरहेको छ,’ थापा भन्छन्, ‘उता माग्यो पाइँदैन । दिँदैनन् ।’
यता, स्थानीय सरकारलाई समेत घटनामा भएको क्षतिबारे कुनै अन्दाज नै छैन । देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले कम्पनीले घटनाबारे औपचारिक रूपमा जानकारी समेत नगराएको गुनासो गर्छन् । उनले भने, ‘आगो लाग्यो त्यति थाहा छ । हामीलाई केही जानकारी नै दिँदैनन् । हाम्रो माथिको सरकार अन्तर्गत हो भन्छन् ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले पनि आफूहरुलाई आगलागीको क्षतिबारे जानकारी नदिएको बताउँछन् । उनले आगलागी भएको सुनेको तर त्यस बाहेक अरू कुनै जानकारी अहिलेसम्म नआएको बताए । ‘खोइ के हो मैले बुझेको एउटा हो । यहाँ त अर्कै छ,’ उनले भने, ‘हामीले आफ्नो क्षेत्रमा रहेका सबै उद्योगधन्दाको जानकारी राख्ने र नजिकको सरकारको रूपमा काम गर्ने भन्ने बुझेको हो । के कति क्षति भयो हामीलाई भन्दैनन् ।’
कम्पनीले २ वटा बिमा कम्पनीमा बिमा गरेको छ । शिखर इन्स्योरेन्समा मेसिनरी र प्लान्टको बिमा गरेको छ भने सिद्धार्थ इन्स्योरेन्समा गोदामको बिमा छ । सिद्धार्थ इन्स्योरेन्सको दाबी भुक्तानी विभागका प्रमुख दीपक धुतका अनुसार अहिलेसम्म बीमा कम्पनीमा ग्राहकका तर्फबाट कुनै निवेदन पुगेको छैन । कम्पनीले उल्टै चासो राख्दासमेत कुनै ‘रेस्पोन्स’ नआएको उनले बताए ।
अर्को बीमा कम्पनी शिखर इन्स्योरेन्सले घटनालगत्तै नजिकका शाखाबाट घटनास्थलमा कर्मचारी पठाएर सर्भे गरेको थियो । अहिले एक जना सर्भियर नियुक्त गरेर घटनाको थप अध्ययन गर्न लगाएको भए पनि सर्भियरको रिपोर्ट आउन बाँकी रहेको शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजवाहकले बताएका छन् ।
कम्पनीका महाप्रवन्धक पौडेलसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यसअघि २०६९ सालमा चौधरी उद्योग ग्रुपकै सतुंगलस्थित इलेक्ट्रोनिक्स उपकरणको गोदाममा भएको आगलागीको बिमा दाबी र भुक्तानीको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।
बिमा समितिले क्षति भन्दा बढी दाबी भयो भन्दा बीमा कम्पनीले क्षति भएको भन्दा धेरै रकम भुक्तानी गर्न पाउँ भन्दै अदालत गएको थियो । चौधरी समूहलाई क्षति भएभन्दा धेरै भुक्तानी गर्न बिमा कम्पनी नै अग्रसर भएको थियो । गत जेठ १९ गते चौधरी ग्रुपको नवलपुरको देवचुलीस्थित चौधरी उद्योग ग्राममा रहेको बियर र चाउचाउ राख्ने कार्टुनको गोदाममा आगलागी भएको थियो ।

Write your Comment