आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    प्रकाशित २०७८ अषाढ १, मंगलबार (२ साल अघि)

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ ।
गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मंगलबार बिहान छलफल गरि पारित गरिएको हो ।

छलफलमा बोल्ने प्रतिपक्ष दलका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्तापक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजिए पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर जाने बताए ।

सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

उनले खासगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विशेष धन्यवाद दिए । उनले भने, “उहाँको सहयोगबिना यो नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।”

प्रदेश सरकारले आजै बजेट प्रदेशसभामा प्रस्तुत गर्दै छ । मुख्यमन्त्री पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नेछन् । पोहोर करिब ३४ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष त्योभन्दा केही घटेर बजेट ल्याउने तयारी गरेको छ ।

Write your Comment