आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

सरकारका ७ जना मन्त्रीलाई सर्वोच्च अदालतद्वारा बर्खास्तको आदेश

    प्रकाशित २०७८ जेष्ठ ६, बिहिबार (२ साल अघि)


काठमाडौं । मौजुदा मन्त्रिपरिषदका सात जना मन्त्रीलाई आज सर्वोच्च अदालतले बर्खास्त गरिदिएको छ । बर्खास्तमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् ।

प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जबराको एकल इजलाशले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकूद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्दै बर्खास्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गठन गरेको मन्त्रिपरिषदमा यसअघि सांसद नभएका व्यक्तिलाई पुनः दोहोर्याएर मन्त्री बनाएका थिए । सो सम्बन्धमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संघीय संसदमा सांसद नभई दोस्रो पटक मन्त्रीमा नियुक्त भएका व्यक्तिहरुलाई काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो ।

संसद नभएको व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

Write your Comment