आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    प्रकाशित २०७८ बैशाख २९, बुधबार (२ साल अघि)


पोखरा । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमतको सरकार बनाउन नसकेपछि पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।

कांग्रेस र माओवादीले निर्धारित आज ४ बजेसम्म सरकार बनाउन असफल भएपछि गुरुङ नै मुख्यमन्त्री बनेका हुन् । गुरुङले गत वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए । गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र अर्थात् आज अपरान्ह ४ बजेसम्म बहुमतको सरकार बनाउन दिएको म्यादमा माओवादी-कांग्रेस चुकेका थिए ।

पौडेलले दिएको समयसीमामा कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् । गुरुङलाई प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनाइएको हो । गुरुङले अबको ३० दिनभित्रमा बहुमत सिद्ध गरेर सरकार टिकाउनुपर्नेछ ।

माओवादी-कांग्रेसको सरकार बनाउने योजनामा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाही बाधक भए । थापाले यसअघि नै साथ नदिने बताएका थिए भने शाहीले अन्तिम समयमा आएर तटस्थ बस्ने निर्णय लिए । जनमोर्चाका दुई सांसद पछि हटेपछि पोखरेलको पक्षमा २९ सांसदको मात्रै हस्ताक्षर पुगेको थियो ।

Write your Comment