आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री बन्ने सम्भावना बलियो

    प्रकाशित २०७८ बैशाख २८, मंगलबार (२ साल अघि)


पोखरा । बैशाख २६ गते मात्र मुख्यमन्त्री बाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । अविश्वासको प्रस्तावमा अल्पमतमा पर्ने देखिएपछी अघिल्लो दिन नै गुरुङले राजीनामा दिएका हुन् तर फेरि ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।

यसअघि दुई तिहाई बहुमतको नेतृत्व गरेका गुरुङ अब भने अल्पमतको सरकारको नेतृत्व गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुन सक्ने देखिएको छ । गण्डकी प्रदेशमा कुनै दलको पनि बहुमत पुग्दैन । गुरुङले २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजसम्म बहुमतको सरकार दाबी गरेर आउन आह्वान गरेकी थिइन् । तर, समय घर्किन लाग्दा समेत राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले काँग्रेस माओवादी र जसपा गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेका छैनन् र गठनहुन सकेको छैन ।

यदि आज बेलुकीसम्म प्रदेश प्रमुख समक्ष दलहरुले बहुमत सदस्यको नामावली र हस्ताक्षर नबुझाए अर्को प्रकृया सुरु हुनेछ र ठूलो दलको हैसियतमा नेकपा एमालेकै सरकार बन्ने अवस्था रहेको छ । पार्टीका संसदीय दलका नेता पृथ्वीसुब्बा भएकाले उनी नै मुख्यमन्त्री हुने पक्का पक्की देखिएको छ ।

कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले जनमोर्चालाई साथमा लिएर मंगलबार नै दाबी पत्र बुझाउने बताए पनि आज अन्तिम दिन सकिन लाग्दा समेत ३ सदस्य रहेको जनमोर्चाको साथ पाउन सकेन । २८ मतका साथ तीन दलीय गठबन्धन सरकार बनाउन अग्रसर बनेको छ र प्रस्तावित मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल छन् । टुप्लुक्क बुहमत (३१ मत) पुग्न जनमोर्चाका तीन जना नै आवश्यक पर्छ तर जनमोर्चा दलका नेता कृष्ण थापा ले चाँही हस्ताक्षर गर्न मानेका छैनन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नै साथ दिने निर्णय गरेका थिए । तर, बाग्लुङे कार्यकर्ताको मनसाय बुझ्दै प्रत्यक्ष निर्वाचित सांसदहरु कृष्ण थापा र खिमविक्रम शाही केन्द्रको निर्णय विरुद्ध अडान लिँदै आएका छन् । समानुपातिक सांसद समेत रहेकी सचेतक पियारी थापा मात्र काँग्रेस गठबन्धनको सरकारको पक्षमा देखिएकी छिन् ।

Write your Comment