आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

१५ भन्दा बढि जन्ती बोक्ने सवारीलाई कडाइ

    प्रकाशित २०७८ बैशाख १८, शनिबार (२ साल अघि)


ज्ञानु पंगेनी , नवलपुर । पूर्वी नवलपरासीमा १५ जना भन्दा बढि जन्ती बोकेका सवारीलाई प्रहरीले कडाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा शुक्रबारदेखि तपाईंको मास्क खोई ? अभियान सुरु गर्दै १५ जना भन्दा बढी जन्ती बोकेका सवारीलाई रोकेको छ । सरकारले बिहेमा १५ जना भन्दा बढि जन्ती जान नपाउने निर्णय गरेकाले त्यसको पालना नगरेका जन्ती बोकेका बस तथा जीपलाई प्रहरीले केहि समय होल्ड गरेको छ । जन्ती पक्षकाले एक पटकका लागि छाडिदिन आग्रह गरेपनि जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप कुमार गिरीले तपाईं हामिले नै नियम उल्लङघन गरे कसले पालना गर्ने ? भन्ने प्रश्न गर्दै १५ जना बाहेक अन्यलाई झारेपछि मात्रै जन्ती बोकेका सवारीलाई जान दिनुभयो । नियम नमान्नेलाई एक पटक भन्दै छाडिदिने हो भने सबैले नियमको उल्लङघन गर्दै जाने भएकाले कडाई गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले बताउनभयो ।
प्रहरीले शुक्रबारदेखी तपाईंको मास्क खोई ? अभियान सुरु गरेको हो । कावासोतीको फलफूलचोकमा एक कार्यक्रमकाबीच अभियान सुरु गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले पूर्व पश्चिम राजमार्ग भएर आवतजावत गरेका सबै सवारीलाई रोकेर मास्क वितरण गर्नुका साथै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै सचेतना मुलक स्टीकर समेत टाँस गर्ने काम गरेको छ । प्रहरीले कोभिड – १९ संक्रमणबाट बच्ने उपाय सहितको सचेतना मुलक प्ले कार्ड सहित अभियानमा सहभागि भएको थियो । यस्तै प्रहरीले मास्क नलगाई हिडेका साईकलयात्री र पदलयात्रीलाई समेत रोकेर मास्क वितरण गर्दै अनिवार्य रुपमा मास्क लगाएर हिड्न आग्रह गरेको छ ।
कार्यक्रममा डिएसपी गिरीले मास्क लगाउँदा कोभिड – १९ बाट मात्र नभई धूलो धुँवाबाट समेत बच्ने भएकाले अहिलेको माहामारीका बेला मात्र नभई अन्य समयमा पनि घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै प्रहरीले आफु पनि बच्न र अरुलाई पनि संक्रमणबाट बचाउन सहयोग गर्ने काममा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीले यस अभियानलाई निरन्तरता दिने र नियम उल्लङघन गर्नेलाई कडाई गर्ने उहाँले बताउनुभयो । उहाँले अत्यावश्यक काम बाहेकघरबाहिर ननिस्कन समेत सबैमा आग्रह गर्नुभएको छ ।

Write your Comment