आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

नवलपुरमा वन डढेलो नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी सुरु

    प्रकाशित २०७७ चैत्र ८, आईतबार (३ साल अघि)


ज्ञानु पंगेनी,नवलपुर । गर्मी मौसममा हुन सक्ने वन डढेलो नियन्त्रण तथा रोकथामका लागि पूर्वी नवलपरासीमा पूर्व तयारी सुरु गरिएको छ । चैतदेखि जेठसम्मको बढि हावाहुरी चल्ने र सुख्खा मौसममा वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढि हुन्छ । जसलाई नियन्त्रण र रोकथामका लागि यहाँका सबै वनहरुले विभिन्न किसिमका काम सुरु गरेका छन् ।
मध्यविन्दु नगरपालिका वडा न. ७ मा रहेको विजय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मधुविलास अधिकारीले वनमा डढेलो नियन्त्रण गर्न वनमा झरेका सुकेका पात पतिङ्गरलाई जम्मा गरेर पोल्ने काम गरिएको बताउनुभयो । ‘वनमा सडक पर्ने हुँदा यहाँ आगलागी हुने सम्भावना बढि छ , आवतजावत गर्नेहरुले चुरोट खाएर फाल्ने वा कुनै नकारात्मक भावना भएकाहरुले समेत वनमा जानीजानी आगलागी लगाउन सक्छन् । ’ अधिकारीले भन्नुभयो – ‘त्यसैले आगलागी हुनसक्ने सम्भावित क्षेत्रहरुमा सुकेका पातपतिङ्गरलाई दिनहुँजसो बटुलेर आफैले जलाउने काम गर्छौ । यसरी सुकेका पात जलाउँदा कोहि कसैले चुरोटको ठूटा फालेपनि आगलागी हनुबाट जोगिन्छ । ’ अधिकारीले भन्नुभयो । रेखदेखका लागि विहानैदेखि चौकीदार वनमा खटिने गरेका छन् । भने , उपभोक्ताहरुलाई सचेतनाका कार्यक्रम समेत गरिएको उहाँ बताउनुहुन्छ ।
यस्तै दुर्गा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार वन डढेलो नियन्त्रण र रोकथामका लागि वनभित्र रहेका झाडी सबै सफा गर्ने र वनको सिमा वरिपरी र वनका बिचमा अग्निरेखा बनाउने काम गरिएको छ । रुखका पात समेत अझै केहि बाँकी रेहकाले अब पुरै पात खसिसकेपछि पनि फेरी सरसफाई गर्ने र झाडु लगाएर सफा गर्ने योजना वन समूहले गराएको अध्यक्ष भण्डारीले बताउनुभयो । यदि आगलागी भईहालेमा तत्काका लागि केहि सहयोग होस् भन्ने उदेश्यले बाटो झेउमा र वनको सिमा क्षेत्रमा ड्रममा पानी हालेर राखिएको उहाँ बताउनुहुन्छ । यस्तै आगलागी भईहाले रोकथाम गर्न चार वटा वन समूहले आगलागी नियन्त्रण सञ्जाल समेत बनाएको उहाँले जानकारी दिनुभयो । हरियाली सामुदायिक वन , मध्यविन्दु लालीगुराँस सामुदायिक वन , न्यु हरियाली र दुर्गा सामुदायक वन गरि चार वटा जंगलभित्र कहिँकतै आगलागी भए सञ्जाल मार्फत् सबैलाई खबर गर्ने गरिन्छ । उपभोक्ता, शशस्त्र , जनपथ प्रहरी साथै वन कार्यालयका सबै जुटेर आगलागी नियन्त्रण गर्ने काम हुने भण्डारीको भनाई छ । वन समूहले सामान्य खालका डढेलो नियन्त्रण गर्ने स्प्रे टंकी समेत राखेको भण्डारीले बताउनुभयो ।
यसैगरि डिभिजन वन कार्यालय नवलपरासी पूर्वले समेत डढेलो नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन योजना २०७७ निर्माण गरेर काम अघि बढाएको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त योजना अनुसार , समूह स्तरीय सचेतना गोष्ठि , वन डढेलो रोकथाम , नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरकृया गर्ने कार्यक्रम रहेको छ भने , अग्ति नियन्त्रण सामाग्री समेत १० सेट खरीद गरिसकेको र छिट्टै प्रहरी तथा नेपाली सेनालाई प्रदान गरिने छ । यसैगरी गस्ति टोली समेत परिचालन गर्ने र सचेतना सम्बन्धी जानकारी सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने योजना बनाएको श्रेष्ठले बताउनुभयो ।
पूर्वी नवलपरासीमा २०८ वटा सामुदायिक वन ,१५३ वटा कतुलियती वन , ८ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक – एक वटा रहेको छ । सुचना अधिकारी श्रेष्ठका अनुसार गत वर्ष जिल्लामा करीब ६ सय हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । यस वर्ष अरुणखोलाको वनमा केहि दिन अघि डढेलो लागेको जानकारी आएको र ठूलो क्षती नभएको उहाँले बताउनुभयो । त्यसबाहेक अन्यत्र डढेलो लागेको जानकारी नआएको उहाँले बताउनुभयो ।
नवलपरासी पूर्व नवलपुर वनको क्षेत्रफल धेरै भएको जिल्ला मध्ये एक हो । यहाँका वन समूहहरुले विगतदेखि नै वर्षेनी डढेलो नियन्त्रणका लागि राम्रो काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष ठाकुर पाण्डेले बताउनुभयो । सामुदायिक वन महासंघ जिल्ला महासंघले समेत डढेलो नियन्त्रणका लागि सचेतना लगायतका कार्यक्रम गर्दै आएको उहाँ बताउनुहुन्छ । उपभोक्ताहरुलाई जागरुक बनाई वन संरक्षणमा लाग्न प्रेरित गर्ने काम संस्थाले गर्दै आएको उहाँले बताउनुभयो । हिजोका दिनमा च्याउ उम्रन्छ ,घाँस पलाउँछ र दाउरा हुन्छ भनेर आफैँ वन डढेलो लगाउने उपभोक्ताहरु अहिले सचेत भएर आफैँ संरक्षणमा लागेको उहाँ बताउनुहुन्छ ।

Write your Comment