आज:  २०८२ मंसिर १२, शुक्रबार | Fri, 28, Nov, 2025 Search
FLASH NEWS

आक्रोशपछि धैर्य र नयाँ सम्भावना

    प्रकाशित २०८२ आश्विन ५, आईतबार (२ महिना अघि)


जब देश ठूलो हलचलबाट गुज्रिन्छ, त्यसपछि अनगिन्ती प्रश्नहरू उर्लन्छन्। केही प्रश्न वास्तविक चासो र सहानुभूति बोकेर आउँछन् भने धेरै प्रश्नहरू भ्रम फैलाउने, दोषारोपण गर्ने र निर्णयलाई अनिश्चिततामा धकेल्ने खालका हुन्छन्। यस्ता प्रश्नहरूले तत्कालीन भावनालाई उत्तेजित राख्छन् तर समाधानतर्फ उन्मुख गराउँदैनन्। बरु नागरिकलाई अन्धकारतिर धकेल्छन्। त्यसैले यस्ता प्रश्नलाई उल्टाएर पनि सोच्ने बानी बसाल्न जरुरी हुन्छ। यसले कम्तिमा पनि दोषारोपणको चक्रबाट केही समयका लागि मनलाई आशावादी र धैर्यवान बनाईदिन सक्छ।

मलाई लाग्छ, प्रश्नहरू आफैंमा गलत हुँदैनन्। तर कहिलेकाहीँ प्रश्न सोध्ने तरिका नै त्यस्तो हुन्छ, जसले हामीलाई दोषारोपणको फन्दामा अड्काउँछ। “अब ठिक हुन्छ होला?” भन्ने प्रश्नले आशा भन्दा बढी शंका पैदा गर्छ। “नयाँ टिम काम गर्न सक्छ?” भन्ने प्रश्नले अवसर दिनुभन्दा पहिले नै असफलताको आशंका बढाउँछ। यस्ता प्रश्नहरूले हामीलाई वर्तमान कामतर्फ होइन, केवल अतीतका कमजोरीतर्फ धकेल्छन्। यो तिर्खाएको मान्छेलाई पानी खोज्नेभन्दा पहिले किन तिर्खा लाग्यो भनेर मात्र बहस गर्न जस्तै हो।

मलाई लाग्छ, प्रश्नहरू आफैंमा गलत हुँदैनन्। तर कहिलेकाहीँ प्रश्न सोध्ने तरिका नै त्यस्तो हुन्छ, जसले हामीलाई दोषारोपणको फन्दामा अड्काउँछ।.

हालैको Gen-Z को आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन। यो दशकौँदेखि जम्मा हुँदै आएको पीडा र असन्तोषको विस्फोट हो। भ्रष्टाचार, नोकरीमा उदासीनता, नागरिकले दिनहुँ भोग्नुपरेको अपमान; यी सबैले नागरिकमा ठूलो घाउ बनाइरहेका थिए। त्यो घाउ अन्ततः सडकदेखि डिजिटल माध्यमसम्म विस्फोट भयो। राज्यमा कतै केही नभएको होइन, तर जुन हिसाबले हुनु पर्थ्यो त्यो भएको देखिँदैन। गरिब र धनीबीचको खाडल झन् बढेको छ। उपचार, शिक्षा, सेवा–सुविधा राजनीतिक पहुँचमा आधारित बनेका छन्। गाउँ–गाउँदेखि शहरसम्म साना–ठूला नेताहरूको दबाब, भागबन्डा र भ्रष्टाचार दैनिक जीवनमा सुनिन्छ, देखिन्छ। धेरै काम ‘राजनीतिक पहुँच’ र ‘दलगत दबाब’ मा आधारित छन्। स्थानीय स्तरसम्मै पुगेका साना नेताहरूले कूलो, बाटो, मन्दिर, वन, खानेपानीजस्ता आधारभूत कुरामा पनि भागबण्डा गरिरहेका छन्। मैले देख्दा, यही कारणले नागरिकको विश्वास राज्यप्रति घट्दै गयो। गरिबलाई उपचार नै नपाउने अवस्था सिर्जना भयो भने धनीलाई सबै सजिलै उपलब्ध भयो। यो असमानताले अन्ततः विस्फोट निम्त्यायो।

त्यसैले, यसलाई केवल “जित” वा “हार” को भाषामा हेर्न मिल्दैन। सबैले केही जिते र सबैले केही हारे। पुराना संरचनाहरूको असफलता प्रस्ट देखियो भने नयाँ सम्भावनाको ढोका पनि खुल्यो।

इतिहासले पनि देखाउँछ, यति ठूलो जनआन्दोलन कुनै पार्टी वा नेताले पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। एक चरणपछि आन्दोलन सामूहिक मनोविज्ञानको वेगमा चल्छ। यसपटक पनि त्यही भयो। ज्यान गुमाएका ७४ सहिद, हजारौँ घाइते, सयौँ भवन नष्ट—यी भौतिक तथ्य हुन्। तर अझ ठूलो घाउ त मानिसको भविष्य र आशामा परेको छ। त्यो कुनै संख्याले नाप्न सकिँदैन।

आन्दोलनमा घुसपैठ भयो भन्ने आरोप धेरै सुनियो। तर यदि साँच्चै यति ठूलो सञ्जाल सक्रिय थियो भने हाम्रो सुरक्षा संयन्त्र समयमै सचेत हुन किन सकेन? सूचना किन भएन? यसले केवल प्रशासनिक कमजोरी मात्र होइन, राष्ट्रिय सुरक्षामै गम्भीर प्रश्न खडा गर्छ। यस्ता कमजोरी फेरि दोहोरिन नदिन सुधार र जवाफदेहिताको प्रक्रिया सुरु गर्नैपर्छ।

आन्दोलनको समयमा राज्यतर्फबाट अत्यधिक दमन र अनुमानविहीन प्रतिक्रिया नआएको भए यति ठूलो क्षति हुनुपर्ने थिएन। अघिल्लो दिन २३ गतेको आन्दोलनमा बालबालिकाको मृत्यु भएको दृश्य अझै पनि मेरो मनमा चोट दिन्छ।

मलाई लाग्छ, आन्दोलनको समयमा राज्यतर्फबाट अत्यधिक दमन र अनुमानविहीन प्रतिक्रिया नआएको भए यति ठूलो क्षति हुनुपर्ने थिएन। अघिल्लो दिन २३ गतेको आन्दोलनमा बालबालिकाको मृत्यु भएको दृश्य अझै पनि मेरो मनमा चोट दिन्छ। त्यसकै पीडाले भोलिपल्ट सर्वसाधारणले आक्रोश पोखेका हुन्, जसको शिकार भौतिक संरचना भयो।

यस्तो आन्दोलनपछि अर्थतन्त्रमा असर नपर्ने कुरै छैन। पर्यटन क्षेत्रमा बुकिङ रद्द भएको छ, लगानीकर्ताको विश्वास कमजोर छ, धेरै योजना थाती रहेका छन्। तर संकटसँगै अवसर पनि आउँछ। अनावश्यक पदसोपान हटाएर, व्यवसायमैत्री नीतिहरू ल्याएर, पारदर्शिता बढाएर र भ्रष्टाचार अन्त्य गरेर ठूलो परिवर्तन गर्न सकिन्छ। आन्दोलनले ल्याएको पीडा भविष्यको शक्ति बन्न सक्छ भन्ने विश्वास मैले बोकेको छु।

हरेक अस्थिरतापछि विदेशी हस्तक्षेपको कुरा उठाइन्छ। तर छिमेकी राष्ट्रहरूलाई पनि स्थिर नेपाल चाहिन्छ, किनभने अस्थिरता उनीहरूसम्म छ्यापिन्छ। उनीहरूले आफ्ना स्वार्थ हेर्छन्, त्यो स्वाभाविक हो। तर त्यसलाई सन्तुलन गर्ने जिम्मा हाम्रो कूटनीति र राजनीतिक परिपक्वताको हो। विदेशी हस्तक्षेप भन्ने बहाना बनाएर आफ्ना कमजोरी लुकाउनु सबैभन्दा खतरनाक कुरा हो।

समाज अहिले “पुराना” र “नयाँ” भनेर दुई ध्रुवमा विभाजित छ। पुरानालाई अतीतका गल्तीका लागि दोष दिइएको छ भने नयाँलाई तत्काल परिणाम दिनुपर्ने भारी दबाब छ। तर यो ध्रुवीकरणको होइन, पुल निर्माणको समय हो। सन्तुलन बनाउन सकिएन भने फेरि अर्को असन्तोष जन्मिन सक्छ, जुन अझ भयावह हुन सक्छ।

नागरिकका लागि अहिले तीन कुरा अति महत्वपूर्ण छन्:
पहिलो, आफ्नो कर्ममा ध्यान दिनु र अझ राम्रोसँग योगदान गर्नु। आन्दोलनले समय र शक्ति लियो, तर अब पुनः सुरु गरेर उत्पादक बन्नुपर्छ।
दोस्रो, समाचार र जानकारी सचेत भएर उपभोग गर्नु। गलत सूचना रोगझैँ फैलिन्छ, त्यसैले आलोचनात्मक दृष्टिले मात्र विश्वास गर्नुपर्छ र रचनात्मक सहकार्य गर्नुपर्छ।
तेस्रो, गल्तीबाट सिक्ने बानी बसाल्नु। लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि हुन्छ। आ–आफ्नो ठाउँबाट इमानदारीपूर्वक योगदान दिँदै भ्रष्टाचारलाई निरुत्साहित गर्ने अभ्यास गर्नुपर्छ।

आन्दोलनपछि दोषारोपण व्यापक भएको छ। कोही निर्दोष देखिन अरूलाई दोष दिन्छन्, कोही अरूलाई अपराधी देखाउन प्रमाण फ्याँक्छन्। तर हामी आम नागरिक यस खेलमा फस्नु हुँदैन। अरूको मैला बन्नु हुँदैन, न त अरूलाई मैलो बनाएर आफ्नो भविष्य बिगार्न दिनु पर्छ।

अहिले हामीलाई सबैभन्दा ठूलो पाठ धैर्यको छ। यो अवस्था तुरुन्तै सुधारिँदैन। केही महिना शान्त, विवेकशील भएर अवलोकन र सकारात्मक सहकार्य गर्नु जरुरी छ। आक्रोश वा अन्धसमर्थन दुवैबाट टाढा रहनुपर्छ। समय बलवान छ, यसले फेरि नयाँ सम्भावना ल्याउँछ।

अहिले हामीलाई सबैभन्दा ठूलो पाठ धैर्यको छ। यो अवस्था तुरुन्तै सुधारिँदैन। केही महिना शान्त, विवेकशील भएर अवलोकन र सकारात्मक सहकार्य गर्नु जरुरी छ। आक्रोश वा अन्धसमर्थन दुवैबाट टाढा रहनुपर्छ। समय बलवान छ, यसले फेरि नयाँ सम्भावना ल्याउँछ। आन्दोलनमा ज्यान गुमाएका ७४ नागरिकलाई म गहिरो श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उनीहरूको बलिदान व्यर्थ जानु हुँदैन। त्यो बलिदान न्यायपूर्ण, पारदर्शी र शान्तिपूर्ण नेपाल निर्माण गर्ने प्रेरणा बन्नुपर्छ।

अन्ततः मैले बुझेको कुरा यो हो, भ्रमपूर्ण प्रश्नहरूले समाधान दिँदैनन्। समाधान त विश्वास, धैर्य, पारदर्शिता र नागरिकको सचेत सहभागिताबाट मात्र आउँछ। अहिले कुनै पक्ष रोज्ने समय होइन। बरु सबै मिलेर राष्ट्रलाई निको पार्ने समय हो। पुरानो र नयाँबीचको दूरीलाई जोड्ने सेतु हामी नागरिकले नै निर्माण गर्नुपर्छ। बलिदान र योगदानलाई शक्तिमा बदल्दै नयाँ, सहिष्णु र न्यायपूर्ण नेपाल निर्माण गर्नुपर्छ, जसमा बालबालिका सुरक्षित, युवाहरू आशावादी र हरेक नागरिक गर्विलो हुनेछन्।

Write your Comment