नवलपुर । नवलपुरमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ । प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपाने (आलोक) को सम्झना तथा स्मरणमा २०५० सालदेखि सुरु भएको आलोक चक्रपथ हालसम्म पूरा हुन नसकेकोले प्रदेश र संघीय सरकारलाई खेल मार्फत ध्यानाकर्षण गराउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
जिल्ला खेलकुद विकास समिति आयोजना, प्रदेश एथलेटिक्स संघ गण्डकीको प्राविधिक सहयोग, कावासोती वडा नमबर १६ को व्यवस्थापन र प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा कार्तिक १ गते प्रतियोगिता संचालन गर्न लागिएको हो । प्रतियोगितामा सातै प्रदेशका २/२ जना गरि १४ र तीन विभागीय टोलीका ६ जनासहित जम्मा २० जना खेलाडी सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । राष्ट्रिय प्रतियोगिता उदघाटनको दश मिनेट पछि नवलपुर र आसपासमा रहेका खेलाडी, पुर्व खेलाडी तथा खेलप्रेमीहरु करिब सय जनालाई दौडिन्छ नवलपुर कार्यक्रम गरिने जनाइएको छ ।
कावासोती नगरपालिकाको नवदुर्गा प्रादेशिक क्रीकेट खेल मैदानबाट सुरु गरि नमुना सदरमुकाममा रहेको रंगशाला हुँदै डण्डा बजार, हुप्सेकोटमा रहेको ३९ औं यूनाइटेट गोल्ड कपको खेल मैदानलाई परिक्रमा गर्दै मध्यविन्दु नगरपालिकाको चोरमारा बजार हुँदै राइनो गोल्ड कप खेल मैदान हुँदै इटौरा चोक, गोछडा चोक, त्रिभुवनटार हुँदै डण्डाको गैंडा चोकमा आएर समापन तथा पुरस्कार वितरण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले जानकारी दिनुभयो । कावासोतीबाट सुरु हुने म्याराथुन प्रतियोगितामा सहभागीलाई ४२.१९५ किमि दुरी तय गरिएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ, तृतीय हुनेलाई २० हजार रुपैयाँ र २ जनालाई सान्त्वना पुरस्कार ५ हजार रुपैयाँँ वितरण गरिने पुनले बताउनुभयो । प्रतियोगिताका लागि १५ जना अफिसियल र ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिता संचालन गरि खेल मार्फत आलोक चक्रपथ निर्माणका लागि सरकारलाई ध्यानाकर्षण गर्ने, कावासोती, मध्यविन्दु र हुप्सेकोटमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा, कला, संस्कृति साथै यस क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, अमलटारी, नन्दपुर होमस्टे तथा पर्यापर्यटनको प्रचारप्रसारका गर्ने उद्देश्य रहेको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो । उहाँका अनुसार आगामी वर्षका लागि समेत प्रतियोगितालाई निरन्तरता दिदै एथलेटिक्स खेलको म्याराथुनमा विकास र नेपालको मुख्य राजमार्गको मध्यभागमा पर्ने मध्यविन्दुको चारैतिर रहेको आलोक चक्रपथ रहेको हुँदा प्रतियोगितामार्फत मध्यविन्दुको प्रचारप्रसार गरिनेछ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती १२ का वडा अध्यक्ष तथा खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनाल, हुप्सेकोट खेलकुद विकास बोर्डका भिमबहादुर सुनारी, कावासोती १६ का वडा सदस्य कृष्ण गिरी लगायत जिल्ला खेलकुदका पदाधिकारी, पत्रकारको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमले गर्नुभएको थियो ।