आज:  २०८२ भाद्र १३, शुक्रबार | Fri, 29, Aug, 2025 Search
FLASH NEWS

म एक जागिरे

    प्रकाशित २०८२ श्रावण २९, बिहिबार (२ हफ्ता अघि)


 म बिहान ६ बजे घडीको अलार्मले होइन, पेटमा चिया खाँदै अफिस पुग्ने चिन्ताले उठ्छु। बाहिरको मौसम जे भए पनि, मेरो दिनको मौसम भने प्रष्ट हुन्छ, बिहान १० देखि साँझ ६ (कहिलेकाहीँ ७–८) सम्म कुर्सी र कम्प्युटरको दुनियाँ। म एक जागिरे हुँ, र यो जिन्दगीको रमाइलो र रिस उठाउने दुवै पक्ष मसँग बाँड्न चाहन्छु।

नेपालमा जागिर भनेको धेरैका लागि सपना हो। खासगरी सरकारी जागिर। गाउँमा सरकारी जागिरे भन्नासाथ दशैंमा टोकरीमा मासु, स्याउ, अनि बाख्राको खुट्टा पठाउने चलन अझै छ। निजी जागिरलाई भने “कम्पनी के हो?” र “तलब कति हो?” भनेर मात्र मूल्यांकन हुन्छ। मैले पनि सुरुमा यही सोचले जागिर सुरु गरेको थिएँ, आर्थिक स्थिरता, सामाजिक प्रतिष्ठा, अनि आफ्नो भविष्य सुरक्षित। तर भित्र पस्दा बुझें, जागिर भनेको केवल तलब ल्याउने काम मात्र होइन, यो त एउटा पूर्ण जीवनशैली रहेछ, कसैले चाहेर, कसैले बाध्यतामा अपनाएको।

सरकारी र निजी जागिरको फरक त मैले धेरै नजिकबाट देखेको छु। सरकारी जागिरमा समय अलिकति लचिलो हुन्छ, तर नियम पुराना, कागजको फाइल मोटा, अनि चिया–पानीको तालिका पक्का। निजी जागिरमा कुर्सी नयाँ, नियम हप्तैपिच्छे बदलिने, अनि ‘attendance’ समय काट्ने पेपरको जस्तो कडाइ। सरकारी जागिरेको महिनाको अन्त्यमा तलब पक्का आउँछ, निजीमा KPI, टार्गेट, अनि म्यानेजरको मुडमा निर्भर हुन्छ।

हप्ताको एक दिन बिदा, कहिलेकाहीँ अफिसको टिम–आउट, अनि दशैंमा बोनस। तर यथार्थ यो हो, तलब र महँगाईको प्रेमकथा कहिल्यै मेल खाँदैन। तलबले पहिलो १० दिन त हल्का फुर्सद दिन्छ, बाँकी २० दिन भने पेट र क्रेडिटको तालमेल मिलाउन पसिना चुहिन्छ।

जागिरे जीवनको मिठास छ, महिनाको अन्त्यमा निश्चित रकम आउँछ, ऋण तिर्न पाइन्छ, बच्चाको स्कुल फी बुझाउन सकिन्छ। हप्ताको एक दिन बिदा, कहिलेकाहीँ अफिसको टिम–आउट, अनि दशैंमा बोनस। तर यथार्थ यो हो, तलब र महँगाईको प्रेमकथा कहिल्यै मेल खाँदैन। तलबले पहिलो १० दिन त हल्का फुर्सद दिन्छ, बाँकी २० दिन भने पेट र क्रेडिटको तालमेल मिलाउन पसिना चुहिन्छ।

कामको समयमा स्वतन्त्रता गुम्नु त जागिरे जीवनको अर्को अघोषित नियम हो। बिहान अफिस पुग्दा टेबलमा अघिल्लो दिनको अधुरो फाइल, नयाँ इमेल, र WhatsApp ग्रुपको ‘Good Morning’ मेसेज पर्खिरहेको हुन्छ। दिउँसो चिया खान निस्कँदा, सरकारी जागिरे राजनीति र बजारको गफ गर्छन्, निजी जागिरे भने ग्राहकको रिस र टार्गेटको चिन्ता साट्छन्। साँझ अफिसबाट फर्केर आज एकदम थाकें” भन्नु बानी हुन्छ, तर भोलि फेरि त्यही तालिका पक्का हुन्छ।

फाइदा छन् तलब, सुविधा, बीमा, केही ठूला कम्पनीमा बोनस र तालिम। सीप बढ्छ, अनुभव जोडिन्छ, अनि नेटवर्क विस्तार हुन्छ। तर बेफाइदा पनि कम छैन, अफिस राजनीति, गुटबन्दी, बढुवा अन्याय, मानसिक दबाब, स्वास्थ्यमा असर। निजी जागिरमा डेडलाइनको दौड, सरकारीमा फाइलको लम्बाइको दौड।

कहिलेकाहीँ लाग्छ, बरु बेरोजगारी पनि सजिलो होला कि? बेरोजगार हुँदा कामको तनाव त हुँदैन, तर आर्थिक संकट र समाजको प्रश्न झेल्नुपर्ने। जागिरे हुँदा आम्दानी त हुन्छ, तर समयको स्वतन्त्रता हराउँछ। बेरोजगारको चिन्ता ‘काम पाउने’, जागिरेको चिन्ता ‘काम पूरा गर्ने’।

हाम्रो देशमा धेरै युवाले जागिरलाई अन्तिम गन्तव्य बनाएका छन्। सरकारी जागिरको मोह र निजी जागिरको ग्ल्यामरबीच, उद्यमशीलताको बाटो भने धेरैको लागि टाढा छ। जागिरे जीवनले स्थिरता दिन्छ, तर जोखिम लिन सक्ने आँट कतै हराउँछ। म आफूलाई पनि यही बीचमा भेट्छु, सुरक्षा चाहने, तर स्वतन्त्रता पनि खोज्ने।

जागिरे जीवनलाई राम्रो बनाउन धेरै कुरा गर्न सकिन्छ होला महँगाईसँग मेल खाने तलब, कामको आधारमा बढुवा, मानसिक स्वास्थ्यको ख्याल, अनि सीप विकासको अवसर। तर यी कुरा हाम्रो अफिस संस्कृतिमा लागू गर्न सजिलो छैन। अझै पनि सम्बन्ध र चम्चागिरीको संस्कृति बलियो छ, काम गर्नेहरूको आत्मसम्मान कमजोर पार्ने।

म एक जागिरे हुँ, मेरो दिनचर्या शायद अरु जस्तै हो, तर भित्रको कथा अरु कोहीले भन्दा म आफैं राम्ररी जान्दछु। हाँसो र रिस, स्थिरता र बन्देज, मिठास र तीतोपन सबै मिसिएको एउटा जिन्दगी।

तर म मान्दछु कि जागिर मात्रै नराम्रो होइन, जागिरको गुणस्तर नै सबै कुरा हो। जागिर पाउँदा जीवनको आधा समस्या हल हुन्छ, तर अर्को आधा समस्या जागिरे जीवनमै उत्पन्न हुन्छ। म एक जागिरे हुँ, मेरो दिनचर्या शायद अरु जस्तै हो, तर भित्रको कथा अरु कोहीले भन्दा म आफैं राम्ररी जान्दछु। हाँसो र रिस, स्थिरता र बन्देज, मिठास र तीतोपन सबै मिसिएको एउटा जिन्दगी।

बेरोजगारीको पीडा र जागिरे जीवनको दबाबबीचको फरक केवल कामको प्रकार होइन, जीवनको दृष्टिकोण हो। बेरोजगारीमा समय हुन्छ, तर पैसा हुँदैन। जागिरेमा पैसा हुन्छ, तर समय हुँदैन। अनि म? म दुवैको बीचमा कहाँ होस् भनेर कहिले हाँस्दै, कहिले गुनासो गर्दै, बिहानको चियासँगै फेरि अर्को दिनको तयारी गर्दैछु। नेपालको यथार्थमा, जागिर नभए भोकै बस्नुपर्ने, जागिर भए पनि मनले चाहेको जस्तो प्रगति गर्न नपाउने।
न जागिरले पूर्ण स्वतन्त्रता दिन्छ, न व्यवसाय सुरु गर्न सहज अवस्था छ।
ब्यवसायको सोच आउँछ, तर बजारको अनिश्चितता, राजनीतिक अस्थिरता, नीतिको बदलिँदो स्वरूप, अनि आफ्नै थोरै बचत सकिने डर, यी सबैले धेरैलाई रिस्क लिने साहस भन्दा जागिरको सुरक्षित असुरक्षा रोज्न बाध्य पार्छ।

मनको कुनामा कहिलेकाहीँ लाग्छ –एक दिन त म मालिक बन्छु, अब त यस्ता मुला जागिर गर्दिन, तर अर्को कुनाबाट आवाज आउँछ- विकल्प के छ? उफ्स् !! राधे–राधे
अनि फेरि भोलिपल्ट बिहानको घडी ६:३० बज्छ, हामी अलार्म बन्द गर्छौं, र ‘स्थिरताको स्वाद, स्वतन्त्रताको सौदा’ को अर्को दिन सुरु हुन्छ।

Write your Comment