काठमाडौं । युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागीता गराउनुपर्नेमा जोड दिइएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा मङ्गलवार राजधानीमा आयोजित “विपदमैत्री तथा जलवायु उत्तरदायी शासनका लागि युवाको अर्थपूर्ण सहभागीता सुनिश्चित तथा प्रवद्धन ”विषयक कार्यक्रममा सहभागी युवाहरुले त्यस्तो माग गर्नुभएको हो ।
संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मुल्याङ्कन समिति सभापति ठाकुर गैरेले पृथ्वीको तापक्रम निरन्तर बढिरहेकोले हिमालय क्षेत्रमा हिउँ पग्लेर महासागरसम्म असर देखिन थालेको अवस्थामा जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा समस्याको रुपमा हेर्नुपर्ने र देशका युवा तथा किशोर बालबालिका समेतलाई यसबारे जागरुक बनाउनुपर्ने बताउनुभयो । उहाँले तापक्रम बढ्दा मानव अस्तित्व नै सङ्कटमा पर्न लागेको र विकसित देशले कार्वन उत्सर्जन गर्दा नेपालले भोगिरहेकोले असर विरुद्ध नेपाली युवालाई जानकारी दिंदै जलवायु न्याय प्राप्तिको अभियानमा सरिक गराउन आफु प्रतिवद्ध रहने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरुको सहभागितामा एसियाको क्षेत्रियस्तरको कमिटी बनाउने तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
सांसद गरिमा शाहले धान लगाउने वर्षात मौसममै हाल तराई क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने वाध्यताले नेपालमा खाद्य सङ्कट निम्तिने खतरा नजिक आएको बताउनुभयो । उहाँले पानीको अभावमा तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था पानी जमिन मुनि जान नदिने विकासे कार्यक्रमको दुरुपयोगले हो, भन्दै नेपालले गर्ने विकासको नीति र अवधारणा, योजनामा परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । बालअधिकारका लागि संसदीय मञ्च प्रमुख सीता रानाले जलवायु परिवर्तनको असरले निम्त्याएको विपद्ले सबै उमेर समुहका नागरिकलाई समान असर पर्ने भएकोले यसबारे जनचेतनाका लागि स्थानीय तहदेखि नै सबैलाई सचेत बनाउँदै अन्त्य गर्न नसकिने विपद्लाई न्युनिकरणसम्म गराउन सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।
जलवायुको क्षेत्रका अनुसन्धानकर्ता अमृत देवकोटाले समग्र नेपालमा जलवायु परिवर्तनले पारेको असर, विपद्को अवस्था, जोखिमका स्थितीबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले जलवायु परिवर्तनको सवालले समग्र क्षेत्रलाई नै एकैपटक असर पार्ने विश्वव्यापी साझा मुद्दा भएकोले यसको न्युनिकरणका लागि स्थानीयस्तर देखि राष्ट्रिय नीति, निर्माणदेखि जलवायु न्यायका लागि विश्वसामु नै आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले सोह्रौं योजनामा जलवायु परिवर्तनको सवाललाई प्राथमिकताका साथ समेटेको जानकारी दिंदै त्यसको कार्यान्वयनका लागी सबैको प्रतिबद्धता र एकता आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युथ भिजन–२०३५ बनिरहेको सन्दर्भबारे जानकारी गराउँदै जलवायु परिवर्तनको सवाल र विपद् व्यवस्थापनको मुद्दालाई प्राथमिकताका साथ उठाउने र समावेश गराउने प्रतिवद्धता जनाउनुभयो ।
ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यमा काउन्सिलले जलवायु परिवर्तन जस्तो विश्वलाई नै प्रभावित पार्ने सवालमा युवालाई जागरुक बनाउने अभियानमा जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गर्नुभयो । मौसम विज्ञ डा. इन्दिरा कडेंलले दिनप्रति दिन बढिरहेकोले तापक्रमले पृथ्वी तात्दा हिमाली भेगको हिउँ पग्लेर नेपालमा बाढि, पहिरोजन्य प्रत्यक्ष असर परिहेको बताउँदै त्यस्तो असर न्युनिकरणका लागि सहि सूचना प्रवाह गर्न देशभर पाँचसय वटा वर्षामापन यन्त्र जडान गरिएको बताउनुभयो । जल तथा मौसम विभागमा कार्यरत कडेंलले २५० वटा जलमापन यन्त्र र मौसम राडार समेत राखेर मौसमको अवस्थाको सहि जानकारी दिन सफल भइरहेको बताउनुभयो । साथै जलमापन यन्त्र र वर्षामापन यन्त्रले देखाएको तथ्यको आधारमा तटिय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढिबाट हुने जनधनको क्षतिको न्युनिकरण होस् भन्ने उद्देश्यले सूचना प्रवाह गर्दै आएको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका उपमहासचिव भवराज रेग्मीले जलवायु परिवर्तनको सवालबारे सहि सचेतना र हरित अर्थतन्त्रमा योजनावद्ध कार्यक्रममा ल्याउन सके युवालाई स्वदेशमै रोजगारी उपलब्ध हुने विचार व्यक्त गर्नुभयो । सुनवल नगरपालिका प्रमुख विमला अर्यालले नेपालकै पहिलो बालमैत्री, पोषणमैत्री स्थानीय तह सुनवलमा जलवायु परिवर्तनबारे जागरणमुलक अभियान पनि सञ्चालन गरेको र यसबाट युवा र किशोर अवस्थाका बालबालिकाले निकै राम्रा अभ्यास सिकेको बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जलवायु परिवर्तन सम्वन्धी जागरणमुलक अभियान कार्यक्रम माडी न.पा, सुनवल न.पा, मध्यविन्दु न.पा.र तिलोत्तमा नगरपालिकाका युवा तथा किशोर, किशोरीबीच सञ्चालन गरी जलवायु र विपद्जन्य समस्याबारे युवा समुहलाई तालिम दिएको बताउनुभयो । अध्यक्ष पौडेलको सभापतित्वमामा सम्पन्न कार्यक्रममा आठवटा विभिन्न संसदीय समितिका २० जना सान्सदहरुले सहभागीता जनाउँदै जलवायु परिवर्तन र विपदबारे सवाल संसदमा उठाउने प्रतिवद्धता जनाउनुभयो ।
युवा अभियन्ता कला बस्यालले सुनवल नगरपालिकामा सञ्चालित जलवायु परिवर्तनबारे अभियानबाट सङ्कलित ध्यानाकर्षणपत्र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मुल्याङ्कन समिति सभापति ठाकुर गैरेलाई हस्तान्तरण गर्नुभयो । सो ध्यानाकर्षणपत्रमा समावेशी विपद् प्रतिकार्य र जलवायु परिवर्तन र जलवायु उत्तरदायि शासन, युवामैत्री तथा सशक्तिकरण प्रणालीमा युवाको अर्थपूर्ण सहभागीता हुनपर्ने, युवा नेतृत्वमा आधारित कार्यक्रमहरुको लागि स्रोत तथा लगानी गर्नुपर्ने, नीति निर्माणमा युवाको सहभागीता हुनुपर्नेलगायतका ११ बुँदाहरु समावेश छन् ।