आज:  २०८२ अषाढ ३१, मंगलबार | Tue, 15, Jul, 2025 Search
FLASH NEWS

हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्रज्ञा प्रतिष्ठान विधेयक पारित

    प्रकाशित २०८२ अषाढ ३१, मंगलबार (५ घण्टा अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिकाको गाउँ सभाको सत्रौँ अधिवेशन अन्तर्गत तेस्रो बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ । गत असार १० गते दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना मगरले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक तेस्रो बैठकमा छलफलपछि पारित गरिएको हो। सो विधेयकले गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि खर्च र आयको रूपरेखा प्रस्तुत गरेको छ ।

त्यसै गरी बैठकमा ‘हुप्सेकोट गाउँ प्रज्ञा प्रतिष्ठान विधेयक २०८२’ पनि पारित गरिएको छ। यस विधेयकले हुप्सेकोटको सांस्कृतिक, बौद्धिक र साहित्यिक गतिविधिहरूलाई संस्थागत गर्दै संरक्षण र प्रवर्द्धन गर्न नयाँ संरचना तयार गर्ने उद्देश्य राखेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।

बैठकमा न्यायिक समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष पूर्णसिंह राना मगरले आर्थिक वर्ष २०८१/८२ को न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा समितिले समाधान गरेका मुद्दा, चुनौतीहरू तथा भावी योजना प्रस्तुत गरिएको थियो ।

हुप्सेकोट गाउँपालिकाको सत्रौँ अधिवेशन अन्तरगतको पहिलो बैठक असार ५ गते बसेको थियो । उक्त बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको थियो । त्यसै गरी दोस्रो बैठक असार १० गते बसेको थियो । उक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक पेस गरिएको थियो ।

Write your Comment