नवलपुर । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने नवलपुरका खेलाडीलाई नगद पुरस्कार तथा छात्रवृत्तिबाट सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिती नवलपुरको समन्वयमा बुधबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलाडीलाई सम्मान गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला खेलकुदका पदाधिकारीहरु, पालिका खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, खेलकुद संघका प्रतिनिधि लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो । नवलपुर जिल्लाबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने फुटबल, क्रिक्रेट, भलिबल, एथलेटिक्स, सेपाक ताक्रो लगायतका खेलमा सहभागी भई पदक पाउने २० जना खेलाडी सम्मानित भएका हुन् ।
कक्षा १० सम्म अध्ययन गर्ने खेलाडीले १७ हजार रुपैयाँ र कक्षा १२ मा अध्ययन गर्ने खेलाडीले २२ हजार रुपैयाँ प्राप्त गर्ने र केही खेलाडी १० हजार / १२ हजार रुपैयाँ प्राप्त गरेका जिल्ला अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो । खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा समेत यस्ता कार्यक्रम प्रदेश खेलकुद ले राख्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । सम्मानित हुने खेलाडीहरुलाई असार २८ गते चेक मार्फत प्रदान गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका उपाध्यक्ष अम्बिका पाण्डेले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमले गर्नुभएको थियो ।