आज:  २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025 Search
FLASH NEWS

पृथ्वी माविलाई नयाँ स्कुल बस हस्तान्तरण

    प्रकाशित २०८२ अषाढ २३, सोमबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिका–१० मा अवस्थित पृथ्वी माध्यमिक विद्यालयलाई नयाँ स्कुल बस हस्तान्तरण गरिएको छ। विद्यालयमा विद्यार्थीहरुका सहजताका लागि २७ लाख २५ हजार रुपैयाँ खर्च गरेर बस खरिद गरिएको हो। बस खरिदका लागि देवचुली नगरपालिकाबाट १५ लाख रुपैयाँ, देवचुली वडा नम्बर १० बाट २ लाख रुपैयाँ र विद्यालयको आन्तरिक स्रोतबाट ९ लाख २५ हजार रुपैयाँ जुटाइएको विद्यालय स्रोतले जनाएको छ।


पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्ती मगरको अध्यक्षतामा आइतबार भएको बस हस्तान्तरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख न्यौपानेले शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्यानुभयो । उहाँले नयाँ बस आएसँगै विद्यार्थीलाई सहज र सुरक्षित यातायात सुविधा मिल्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । अब शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयले योजना बनाएर लाग्नुपर्ने बताउनुभयो ।


देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले विद्यालयको शैक्षिक क्रियाकलापमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले विद्यालयले उत्कृष्ट नतिजा निकालिरहेको बताउँदै आगामी दिनमा अझै राम्रो नतिजा ल्याउन सबै जना लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रनबहादुर आलेले विद्यालय बसका लागि सहयोग गर्ने देवचुली नगरपालिका, देवचुली १० वडा कार्यालय तथा पहल गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, कार्यपालिका सदस्य पार्वती अर्याल कंडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका निवर्तमान प्रधानाध्यापक जयनारायण सापकोटा, शिक्षक अभिभावक संघका पदाधिकारी, सामाजिक व्यक्तित्वहरु, शिक्षक लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक डिलाराम भुसालले गर्नुभएको थियो ।

Write your Comment