आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

कावासोती १२ मा किशोरी सशक्तीकरण र आत्मरक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८२ अषाढ ६, शुक्रबार (५ दिन अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा किशोरी सशक्तीकरण र आत्मरक्षा सम्बन्धिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती १२ को आर्थिक वर्ष २०८१/०८२ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत तालिमको संचालन गरिएको हो ।

किशोरीहरुको सशक्तीकरण र घरबाट नै अगाडी बढनको लागि यस्ता कार्यक्रम आवश्यक रहेकोले प्रत्येक बर्ष कार्यक्रम राखी किशोरीहरुको समग्र विकासमा सहयोग पुर्‍यउन खोजिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले बताउनुभयो । समुदायमा अझै पनि किशोरीहरुमाथि हिंसा र शोषण व्याप्त रहेकोले यस्ता कार्यक्रमले सचेतना र स्वयम जागरण ल्याउनेमा उहाँले जोड दिनुभयो । उहाँले बालमैत्रीको लागि समेत कामहरु भईरहेको र बालबालिकाहरुको समग्र विकासमा स्थानीय सरकार साथमा रहेको बताउनुभयो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालको सहजकर्ता रेजिना घर्ती मगरले किशोरीहरुलाई राम्रो र नराम्रो छुवाई, हिंसा, शोषण र दुर्व्यवहार हुँदा कसरी न्याय पाउन सकिन्छ, समाजमा कहाँ कहाँ हिंसा, शोषण र असमानता रहेको छ भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो । सहजकर्ता शिला सुनारले किशोर अवस्थामा आउन सक्ने परिवर्तन र मानसिक स्वास्थ्यको बारेमा सहजीकरण गर्दै मानसिक रूपमा पनि स्वस्थ हुनु पनि महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । आफुलाई केही समस्या पर्दा अरुलाई भन्न सक्ने हुनु नै परिवर्तनको सुरुवात रहेकोले किशोरीहरुले यो बिषयमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको उदघाटन समारोहमा वाईज भिजन इङलिस स्कुलका प्रिन्सिपल तिलकचन सापकोटाले यस्ता कार्यक्रमले समग्र विकासमा सहयोग पुग्ने भएकोले सबैले हातेमालो गरि अगाडि बढनुपर्नेमा कुरामा जोड दिनुभयो । वडा नम्बर १२ हिंसा मुक्त र बालमैत्री हुन लागेकोले यसले पनि समग्र क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै जनप्रतिनिधि बन्दना तिवारीले हिजोको दिन र आजको दिन निकै फरक भइसकेको र वर्तमान समयमा किशोरीहरुले आफ्नो क्षमता र दक्षता बढाउन सके भोलि सुन्दर हुने हुँदा वडा कार्यालय सदैव तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको सहजीकरण भएको थियो भने वडा भित्रका ६० जना किशोरीहरु लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Write your Comment