राजु चापागाई, देवचुली । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिमा विकास बैंक लिमिटेड दलदले शाखाको सहयोगमा दलदले बजारमा सर्वसाधारण तथा बटुवाका लागि पिउने पानीको धारा जडान गरिएको छ । गरिमा विकास बैंक लिमिटेडद्वारा दिगो विकासको लक्ष्य ६ मा रहेको सबैको लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धता अन्तरगत दलदले बजार क्षेत्रमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्याउन स्मार्ट वाटर फिल्टर सहयोग गरिएको हो ।
दलदले बजार क्षेत्र नवलपुरको पहाडी गाउँहरुको गन्तव्य जाने र बजार क्षेत्रमा आउने सर्वसाधारणलाई स्वच्छ र सफा पानीको मध्यनजर गर्दै प्रगतिनगर खानेपानीद्वारा गरिमा विकास बैंक लिमिटेडलाई पिउने पानीको धारा जडानका लागि अनुरोध गरिएको र आज सम्पुर्ण कार्य सकि धारा सर्वसाधारणको लागि प्रयोग गर्न सक्ने भएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाले बताउनुभयो । बाटोमा हिड्ने सर्वसाधारण तथा बटुवाका लागि सहज हुने गरि फिल्टर सहितको पानी खुवाउने योजना सफल भएको उहाँले बताउनुभयो । बैंकबाट वित्तीय क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा सहयोग गरेकोमा बैंक परिवारलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाको अध्यक्षता मंगलबार धाराको समुदघाटन कार्यक्रममा देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि गरिमा विकास बैंक लिमिटेड दलदलेका शाखा प्रमुख समीर सुबेदी, प्रगतिनगर खानेपानी संस्थाका उपाध्यक्ष कृष्ण थापा, सचिव विष्णु न्यौपाने, लेखा संयोजक जीवन श्रेष्ठ, कार्यालय प्रमुख इश्वरबहादुर पान्डे, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइली, सचिव चिरञ्जीवी पाण्डे लगायत खानेपानीका कर्मचारी, बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
गरिमा विकास बैंक लिमिटेड दलदलेले सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरेको र आगामी दिनमा समेत सक्दो सहयोग गर्ने बैंकका दलदले शाखा प्रमुख समीर सुबेदीले बताउनुभयो । कार्यक्रमलाई प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव विष्णु न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।