देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीद्वारा सरसफाइ तथा सचेतना अभियान सुरु गरेको छ । पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा देवचुली नगरपालिकाका विभिन्न स्थानमा आजबाट ५ गतेसम्म अभियानकै रुपमा कार्यक्रम गर्न लागिएको हो । मंगलबार देवचुली नगरपालिका हुँदै कैलाश मन्दिर वरपरको क्षेत्र सरसफाइ गर्दै दलदले बजार क्षेत्रमा समेत सरसफाइ गरिएको रास्वपा देवचुलीले जनाएको छ ।
पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा राष्ट्रियव्यापी विभिन्न कार्यक्रम संचालन भईरहेको र देवचुली नगरपालिकामा सरसफाइ तथा सचेतना कार्यक्रम गरिएको पार्टीका सभापति क्या. शेरबहादुर केसीले जानकारी दिनुभयो । वर्षाको समयमा पानी जम्मा हुने स्थानमा लामखुट्टेको बासस्थान हुने हुँदा मलेरिया, डेंगु लगायतको रोगहरुको संक्रमणको समय भएकाले सरसफाईसँगै सचेतना प्रवाह गरिएको उहाँले बताउनुभयो । पार्टीले तीनदिनसम्म फरक फरक स्थानमा अभियानको रुपमा कार्यक्रम गरिएकाले सबैजना सहभागी हुन अनुरोध समेत गर्नुभएको छ ।
नागरिकलाई फोहोरहरु जथाभाबी नफालौं भन्ने सन्देश दिन कार्यक्रम गरिएको रास्वा गण्डकी प्रदेश विभाग सदस्य भविश्वर लम्सालले बताउनुभयो । तीनदिन सम्म अभियानको रुपमा सरसफाइ कार्यक्रम आजबाट सुरु गरिएको र बुधबार देवचुली नगर अस्पताल परिसर सरसफाई गरिने रास्वपा देवचुलीले जनाएको छ । पार्टीले असार ६ गते अपांगता भएका बालबालिकाका लागि सहयोग गर्ने कार्यक्रम समेत रहेको छ ।
मंगलबार भएको सरसफाइ तथा सचेतना कार्यक्रममा रास्वपाका प्रदेश, जिल्ला, नगर, वडा कमिटी र स्थानीयहरुको सहभागिता रहेको थियो ।