आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

मध्यविन्दु-४ मा जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८२ अषाढ २, सोमबार (१ हफ्ता अघि)


नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर ४ मा जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार मध्यविन्दु नगरपालिका–४ स्थित जनता सिद्ध अमर माध्यमिक विद्यालय लुस्लहरीमा कक्षा ९ र १० मा अध्ययनरत किशोर–किशोरीलाई लक्षित गरी जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका साथी शिक्षक तिरिया महतो र लक्ष्मा बिकले जलवायु परिवर्तन भनेको के हो, यसका कारणहरू, यसले पार्ने असरहरू, र त्यसबाट बच्ने उपायहरूका बारेमा विस्तृत जानकारी दिँदै समस्या समाधानका सम्भावित उपायहरूमाथि सहभागीसँग छलफलसहित सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम इको बाल क्लबका अध्यक्ष विजय चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष चौधरीले कार्यक्रममा बोल्दै भने, “जलवायु परिवर्तन हाम्रो पुस्तामाथिको गम्भीर चुनौती हो। यसबारे चेतना फैलाउन यस्ता कार्यक्रम विद्यालयस्तरमै आयोजना हुनु अत्यन्त सकारात्मक हो। हामी बालबालिकाले पनि वातावरण संरक्षणमा सक्दो योगदान दिनुपर्छ।”

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक खोरबहादुर महतो रहनुभएको थियो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूले जलवायु परिवर्तनबारे थाहा पाउनु अत्यावश्यक छ। यस्तो शिक्षाले उनीहरूलाई जिम्मेवार र सचेत नागरिक बन्न सहयोग पुर्‍याउँछ।”

कार्यक्रममा बाल क्लब सम्पर्क शिक्षक रामकुमारी थनेत, शिक्षिका माया महतो, शिक्षिका खुमिसरा सारु, तथा जागृति बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालक रुपा भट्टराई काफ्लेको समेत उपस्थिति रहेको थियो।

Write your Comment