नवलपुर ।मध्यविन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालय इटौरामा जीवन उपयोगी सीपसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूलाई जीवन उपयोगी सीप भनेको के हो, यस्ता सीपहरू कस्ता हुन्छन्, ती किन आवश्यक छन्, तथा जीवनमा आउने नकारात्मक परिवर्तनहरूसँग कसरी सामना गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा छलफल गरिएको हो । कार्यक्रमको सहजीकरण साथी शिक्षकहरू शिवानी सापकोटा र जेसिका महतोले गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुनकुमारी महतो, शिक्षक/शिक्षिकाहरू, जागृति बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालक रुपा भट्टराई काफ्ले, वडा बाल सञ्जालकी अध्यक्ष शीतल पौडेल सहित कक्षा ६ देखि ९ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। बाल क्लब अध्यक्ष शीतल पौडेलले आफ्नो भनाइमा जीवन उपयोगी सीपबारे जानकारी पाउँदा आफू निकै खुशी भएको बताइन्। उनले भनिन्, “हामी किशोरकिशोरीहरूको जीवनमा यस्ता सीपहरू अत्यन्त आवश्यक छन्। यस्ता कार्यक्रमले हामीलाई आत्मविश्वासी बनाउँछ र जीवनमा आउने चुनौतीहरू समाधान गर्न सहयोग पुर्याउँछ।”
कार्यक्रममा सहभागी साथी शिक्षकहरूले किशोरी सशक्तीकरण कार्यक्रममा आबद्ध हुनु अघि र पछिको आफ्ना अनुभवहरू, समुदाय र विद्यालयमा गर्दै आएका सकारात्मक परिवर्तनहरू तथा भूमिकाहरूसम्बन्धी विषयमा समेत आफ्ना धारणा राखेका थिए।