मध्यविन्दु । मध्यविन्दु नगरपालिका–२ मा रहेको श्री कुमारवर्ती माध्यमिक विद्यालय कोल्हुवामा साइबर सुरक्षा तथा साइबर अपराधसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत “साथी शिक्षकहरूको आउटरिच कार्यक्रम” को हिस्सा स्वरूप उक्त विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। जागृती बाल तथा युवा सरोकार नेपालमा कार्यरत सामाजिक परिचालक रुपा भट्टराईका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई डिजिटल सुरक्षाबारे जानकारी दिई उनीहरूलाई सुरक्षित अनलाइन व्यवहारतर्फ अभिमुख गराउनु रहेको थियो।
कार्यक्रममा साइबर सुरक्षा भनेको के हो? साइबर अपराध कसरी हुन सक्छ? यसका नकारात्मक प्रभावहरू के–के हुन्? सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबीचको अन्तर लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, अनलाइन वातावरणमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने व्यवहारिक उपायहरू पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा किशोरी अभियन्ता अनिशा पौडेलले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा ३३ जना विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल माध्यमप्रति सजगता र सचेतना बढाउने विश्वास व्यक्त गरिएको छ।