देवचुली । देवचुली नगरपालिका अन्तर्गत नगर बाल सञ्जाल तथा वडा बाल सञ्जालका पदाधिकारीहरूलाई लक्षित गरी एक दिवसीय पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा शनिबार महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा अभिमुखीकरण गरिएको हो ।
देवचुली नगर बाल सञ्जालकी अध्यक्ष अनुस्का भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पोषण अधिकार, यसको महत्त्व, बाल अधिकार र बालबालिकाको लागि अत्यन्तै महत्त्वपूर्ण मानिने पोषणसम्बन्धी विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले गर्नुभएको थियो।
अभिमुखीकरणमा सहभागी बालबालिकाले जंक फुड सेवन नगर्ने, स्वस्थ र सन्तुलित आहारमा जोड दिने प्रतिबद्धता जनाएका थिए। साथै, विद्यालयमा सञ्चालनमा रहेका खाजाका क्यान्टिनहरूको नियमित अनुगमन गर्नुपर्ने, विद्यालय र घरमा करेसाबारी निर्माण गरी विषादीरहित ताजा तरकारी तथा खाद्यपदार्थको उपभोग गर्नुपर्ने सुझावहरू पनि प्रस्तुत गरिएका थिए।