देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा संचालित महिलाहरूका लागि उदघोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली मिडिया प्रालिको सहजीकरणमा दुई दिनसम्म वडाका महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।
देवचुली ९ मा टोल विकास संस्था, विभिन्न संघसंस्थामा नेतृत्व गर्ने महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडाबाट विनियोजन गरिएको बजेटबाट कार्यक्रम गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । दुई दिनसम्म महिलाहरुलाई नेतृत्व विकास तथा उदघोषणकला सम्बन्धि सीप सिकाईएको उहाँले बताउनुभयो । वडामा आमा समुह, टोल विकास संस्थामा कार्यक्रम संचालनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको हो । महिलाहरुलाई सीपमुलक कार्यक्रम प्राथमिकता दिदैँ आगामी दिनमा कार्यक्रम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
दुई दिनसम्म संचालन भएको तालिमलाई पत्रकार दयाराम आचार्य र राजु चापागाईले सहजीकरण गर्नुभएको थियो । देवचुली नगरपालिकाका कार्यपालिका सदस्य मधुमाया गुरुङको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । तालिम समापन कार्यक्रममा वडा सदस्य विष्णुबहादुर खडका, प्रशिक्षक दयाराम आचार्य, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत महिलाहरुको उपस्थित रहेको थियो ।