आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकामा बाल भेला सम्पन्न, ०८२/०८३ को लागि बालबालिकाका माग र नीतिबारे छलफल

    प्रकाशित २०८२ जेष्ठ २४, शनिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा १७ वटै वडाका बालबालिकाहरूको सहभागीतामा बाल भेला सम्पन्न भएको छ। बाल भेलाले आर्थिक वर्ष ०८२/०८३ को लागि बालबालिकाको नीति र कार्यक्रमको लागि सवालहरु र मागहरु प्रस्तुत गरेका छन् ।

देवचुली नगर बाल संजालका अध्यक्ष अनुस्का भण्डारीको अध्यक्षतामा भएको बाल भेलामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । उदघाटन समारोहमा बोल्दै नगर प्रमुख न्यौपानेले बालबालिकाको आवाजलाई नीति निर्माण प्रक्रियामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “बालबालिकाको माग र आवश्यकता हाम्रो नीति तथा योजना निर्माणको मूल आधार हुनेछ। देवचुलीलाई बालमैत्री दिगो रूपमा राखी हेर्न र बस्न लायक नगरपालिका बनाउन सबैको सहकार्य आवश्यक छ भन्दै बालबालिकाले समेत यसमा सुझाव दिन अनुरोध गर्नुभएको थियो ।

बालबालिकाको सहभागिता सुनिश्चित गर्दै आयोजित भेलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बालबालिकासम्बन्धी मागहरू र बालमैत्री नीतिहरूको विषयमा गम्भीर छलफल गर्नुपर्ने सामाजिक विकास शाखाका विमला लम्सालले बताउनुभएको थियोे । कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, जिल्ला बाल अधिकार बाल समितिका अध्यक्ष नारायण पौडेल, वडा नं. ११ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता तिलप्रसाद काफ्लेले शुभकामना मन्तव्य राख्दै बाल अधिकार संरक्षणमा पालिकाको भूमिका झनै प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। बालमैत्री नगर गौरवको योजना रहेकोेले बालबालिकाका सवालहरुलाई प्राथमिकतामा राखी काम गर्नको लागि सामुहिक प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजीकरण गर्नुभएको थियो । उहाँले बालबालिकाहरूको विचार र मागहरूलाई व्यवस्थित रूपमा संकलन गर्न सहयोग पुर्‍याएका थिए। बाल भेलाको विभिन्न चरणहरुको अभ्यास गरि बालबालिकाका सवाललाई प्राथमिकतामा राखी गर्नुपर्ने योजनाहरु र सुझावहरु संकलन गरिएको सहजकर्ता दिपक शर्माले बताउनुभयो ।

बाल भेलामा ७० जना बालबालिकाको उपस्थिति रहेको थियो । सहभागी बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, संरक्षण, सुरक्षित वातावरण, खेलकुद र सिर्जनात्मक अभिव्यक्तिको अधिकार लगायतका विषयमा आफ्ना विचारहरू राखेका थिए।

Write your Comment