मध्यविन्दु । मध्यविन्दु नगरपालिका-११ मा अवस्थित श्री विरेन्द्र माध्यमिक विद्यालय द्वारदहमा बाल विवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयस्तरीय उक्त कार्यक्रममा बाल विवाहको परिभाषा, त्यसले पार्ने सामाजिक र व्यक्तिगत असर, कानुनी प्रावधान तथा उजुरी प्रक्रिया सम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको हो।
कार्यक्रमको सहजीकरण साथी शिक्षक सीता सेन ठकुरी र सरिता सोमैले गर्नुभएको थियो। उहाँहरूले बाल विवाह के हो, त्यसबाट सिर्जना हुने समस्या, कानुनी सजाय तथा रोकथामका उपायहरूलाई सरल भाषामा प्रस्तुत गर्दै सहभागीहरूसँग अन्तरकृया गर्नुभएको थियो । साथी शिक्षकहरुले बाल विवाहजस्ता सामाजिक कुरीति रोक्न बालक्लवले पनि नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउँदै कानुनी सजगता र व्यक्तिगत आत्मविश्वास वृद्धि गर्न प्रोत्साहन गर्नुभएको थियो । साथै, उजुरी कहाँ, कसरी गर्ने भन्ने विषयमा व्यावहारिक जानकारी पनि प्रदान गरिएको थियो। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक विषयमा चेतना बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमले बाल विवाह जस्तो सामाजिक अपराध विरुद्ध किशोरीहरूलाई सशक्त बनाउने र विद्यालय तथा समुदायस्तरमै सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेक बहादुर राना, शिक्षक कृष्ण पाण्डे, जागृति बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालक रूपा काफ्ले लगायतको उपस्थिति रहेको थियो ।