नवलपुर । नवलपुरको कावासोती १२ मा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक सचेतना कार्यक्रम सुरु गरिएको छ । कावासोती १२ को आयोजना र शान्ति निकुञ्ज माविको समन्वयमा बुधबार र बिहीबार दुई दिन अभिभावकहरुलाई सचेतना कार्यक्रम सुरु गरिएको हो ।
अभिभावकहरुलाई आफ्ना सन्तानको शैक्षिक अवस्था बुझ्न निरन्तर विद्यालय आउने वातावरण मिलाउनका साथै सरोकारवालाबीच सहकार्य भए मात्र शैक्षिक गुणस्तर हासिल गर्न सकिने भएकाले दुई दिनसम्म कार्यक्रम गरिएको कावासोती १२ का अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । बुधबार शान्ति निकुञ्ज माविमा कक्षा ८,९ र १० मा पढ्ने विद्यार्थीका अभिभावकहरुलाई र बिहीबार शान्ति निकुञ्ज माविका १-७ कक्षामा पढ्ने विद्यार्थी अभिभावक साथै वडामा रहेका राजरत्न र सन्तुदेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकलाई सचेतना कार्यक्रम गरिने उहाँले बताउनुभयो । वडाले विद्यार्थीहरुको शैक्षिक सुधारका लागि शिक्षकहरुलाई समेत तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालय सुधारका लागि सरोकारवालाको सहकार्य आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभएको थियो ।
शान्ति निकुञ्ज माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खेमप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेल, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, वडा सदस्यहरु, शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । २ दिनसम्म संचालन हुने कार्यक्रमको पहिलो दिनको सहजीकरण दिपेन्द्र ढकालले गर्नुभएको थियो ।
कार्यक्रमबाट विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने शान्ति निकुञ्ज माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताउनुभयो । वडाले शैक्षिक सुधारको लागि गरेको कार्य प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा समेत यस्तै कार्यक्रमको निरन्तरताको लागि अनुरोध गर्नुभएको थियो ।