नवलपुर। मध्यविन्दु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा मंगलबारदेखि “सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालय व्यवस्थापन एवम् नेतृत्व विकास सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम” सुरु भएको छ। सौराहा, चितवनको होटल चितवन प्याराडाइसमा जेठ २१ गतेसम्म संचालन हुने कार्यक्रममा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ।
प्रधानाध्यापकहरूलाई आफ्नो विद्यालयको सुधार तथा विकासका लागि उत्प्रेरित गर्नुका साथै विद्यालय सुधारमा समुदायको अपनत्व विकास गर्दै अभिभावक जागरण अभियानमा प्रधानाध्यापकलाई जिम्मेवार बनाउनु, एक्काइसौँ शताब्दी अनुकूलको विद्यालय सुधारका लागि प्रधानाध्यापकहरूलाई मानसिक रुपमा तयार तथा उत्प्रेरित गर्नु, विद्यालय सुधारका लागि सबै सरोकारवाला पक्षलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउनु, र शैक्षिक गुणस्तर सुधारको वार्षिक कार्यतालिका तथा रणनीति निर्माण गराउनु र कार्यान्वयनयोग्य योजना निर्माण गर्नका लागि कार्यक्रम गरिएको हो ।
कार्यक्रमको शुभारम्भ शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यको अध्यक्षतामा भएको थियो। उहाँले शैक्षिक सुधारका लागि नगरपालिका हरदम तयार रहेको र गुणस्तर सुधारमा प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। प्रमुख अतिथि नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिका शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्ध रहेको र विद्यालयको वस्तुनिष्ठ तथा कार्यान्वयनयोग्य योजना निर्माण गरी त्यसको कार्यान्वयनको मुख्य दायित्व प्रधानाध्यापककै रहने बताउनुभयो। उहाँले हाल सुधारको प्रयास भए पनि थप सुधार आवश्यक रहेको र सो सम्बन्धमा प्रधानाध्यापकको क्षमता विकास गर्न जरुरी रहेको भन्दै दुई दिने तालिमबाट नेतृत्वमा परिवर्तन आई सुधार हुने विश्वास व्यक्त गर्नुभयो। खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराइ पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो भने शिक्षा महाशाखा अधिकृत कृष्ण प्रसाद रेग्मीले तालिमको योजना तथा समयतालिकाबारे प्रष्ट पार्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो। त्रिभुवन बाल मा.वि.का दिपक घिमिरेले विद्यालयले गर्न सक्ने असल अभ्यासहरू प्रस्तुत गर्नुभयो र नवजागरण मा.वि.का प्रधानाध्यापकले कार्यक्रमको शुभकामना मन्तव्य दिदै दुइ दिने बसाईलाइ उपलब्धिमुलक बनाउन सम्पूर्ण सहभागीलाइ अनुरोध गर्नुभएको थियो।
पहिलो दिनको सत्रमा बृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले सहजीकरण गर्नुभयो। उहाँले राम्रो विद्यालय र सुधार गर्नुपर्ने विद्यालयको केस स्टडी तथा प्रस्तुतीकरण गर्नुका साथै ‘शिक्षा के हो र केका लागि?’ भन्ने प्रश्नमाथि प्रकाश पार्नुभयो। उहाँले विद्यालय समाजवादको आधार, सामुदायिक विकास तथा उत्थानको केन्द्र, चेतना र ज्ञानको केन्द्र, सामाजिक सद्भाव, एकता र सहकार्यको केन्द्र, समावेशिता, सामाजिक न्याय र समतामूलक समाजको केन्द्र, अध्ययन, अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनको केन्द्र, संस्कार र चरित्र निर्माणको केन्द्र, सामाजिक तथा सांस्कृतिक विकासको केन्द्र, र सीप विकास तथा उद्यमशीलताको केन्द्र हुनुपर्नेमा जोड दिनुभयो। यसका साथै, विद्यालयको वर्तमान अवस्था पहिचान र सुधार भएको सफलताका उदाहरणहरू पनि प्रस्तुत गरियो। सहभागी प्रधानाध्यापकहरूले समूहगत रुपमा नगरपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयको मिसन २०८२ का लागि विद्यालय सुधारका मुख्य कार्यक्रमहरू पहिचान गरी प्रस्तुतीकरण गरेका थिए।