देवचुली । देवचुली ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको बिहीबार भएको निर्वाचनबाट भरतराज आचार्यको अध्यक्षतामा निर्वाचित कार्य समितिलाई सोमबार सपथ ग्रहण गराइएको हो ।
निर्वाचन समितिका संयोजक नवराज घिमिरेको अध्यक्षतामा सोमबार भएको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यपालिका सदस्य मधुमाया गुरुङ, संस्थाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु, घुमाउरी सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष पार्वती रावल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
निर्वाचनबाट विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा भरतराज आचार्य, उपाध्यक्षमा प्रेमबहादुर गुरुङ, सचिवमा तुलसीराम अर्याल, कोषाध्यक्षमा बिमाया मगर, कार्यसमिति सदस्य महिला ( जनजाती) मा ईश्वरी गाहा मगर, कार्यसमिति सदस्य महिला ( दलित) मा सरस्वती बिक, कार्यसमिति सदस्य महिला ( अन्य) मा गिता पाध्य र कार्यसमिति खुला सदस्यमा टेकराज श्रेष्ठ र नेत्रलाल काफ्ले विजयी भएका थिए । त्यसै गरि लेखा संयोजकमा उमाकान्त भुसाल, सदस्यहरुमा रेनुका भुसाल भट्टराई र गिरबहादुर दमाई निर्वाचित भएका हुन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक नवराज घिमिरेले सपथ गराउनुभएको हो ।
कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, निर्वाचन सहजीकरण समितिका सदस्य कृष्ण बहादुर आले, मेखबहादुर थापा सारु मगर, अध्यक्षका प्रत्यासी खेमनारायण पंगेनी, यदुनाथ कंडेल लगायतले नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष आचार्यले संस्थाको स्तरोन्नतिका लागि सबैसँग सरसल्लाह गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम निर्वाचन समितिका सदस्य शिव सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
पदभार ग्रहण सँगै महत्त्वपूर्ण निर्णय
नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिका पदाधिकारीहरुद्वारा सपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका छन् । पदभार पश्चात् सोमबार बसेको कार्यसमिति तथा लेखासमितिको पहिलो संयुक्त बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले उपभोक्ता घरमा कुनै सदस्यको मृत्यु भएमा उक्त महिनाको पानीको महसुल छुट दिने निर्णय गरेको छ । त्यसै गरि निर्वाचन समितिलाई तथा निर्वतमान कार्य समितिलाई धन्यवाद ज्ञापन गरिएको र संस्थाको स्तरोन्नतिका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग बजेटका लागि पहल गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष भरतराज आचार्यले जानकारी दिनुभयो ।