देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० मा सुनौला हजार दिनका आमाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर १० बाट विनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रति व्यक्ती १ किलो घ्यु, १ क्रेट अण्डा, १/ १ किलो चना र भट्टमास वितरण गरिएको हो ।
बच्चाहरुको शारीरिक,मानसिक तथा बौद्धिक विकासका लागी पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेत बनाउनका लागि आमाहरुलाई पोषणयुक्त सामाग्री वितरण कार्यक्रम निरन्तर रुपमा गर्दै आईरहेको देवचुली वडा न १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताउनुभयो । वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वडामा रहेका सुनौला हजार दिनका १ वर्ष भित्रका आमाहरुको नाम संकलन गर्न अनुरोध गरिएको र आज ५० जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त सामाग्री वितरण गरिएको साथै कोही छुटेको भए वडाले सबैलाई समानरुपले पोषणयुक्त सामाग्री वितरण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा देवचुली वडा न १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, वडास्तरीय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिका पदाधिकारीहरु, वडा सदस्यहरु, युवा क्लब ,आमा समुहको प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायत सुनौला हजार दिनका आमाहरुको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सुनौलो हजार दिनका आमाहरुका लागि पोषणयुक्त खाद्यको आवश्यक तथा त्यसबाट आमा र बच्चाहरू पुग्ने फाइदाको बारेमा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी गराउनुभएको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका पोषण सहजकर्ता विद्या पौडेलले गर्नुभएको थियो ।