आज:  २०८२ जेष्ठ २१, बुधबार | Wed, 04, Jun, 2025 Search
FLASH NEWS

देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

    प्रकाशित २०८२ जेष्ठ १९, सोमबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिका–२, दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। बिहान करिब ८:३० बजे बुटवलबाट नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र दुम्कौलीतर्फ गइरहेको बा २० च १२७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा देवचुली नगरपालिका–१ निवासी ५२ वर्षीय स्कुल भ्यान चालक कुलप्रसाद सुबेदी गम्भीर घाइते भई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा सवार बुटवल उपमहानगरपालिका–३, गोलपार्क निवासी ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई, र २५ वर्षीया स्नेहा परियार घाइते भएका छन्। उनीहरूलाई अनुहार तथा टाउकोमा चोट लागेकाे र अवस्था मध्यम रहेको जनाइएको छ। उनीहरूको उपचार चितवनको मनकामना अस्पतालमा भइरहेको छ।

स्कुल भ्यानमा सवार देवचुली नगरपालिका–१७ निवासी १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएका छन्। उनीहरूलाई स्थानीय भविष्य पोलिक्लिनिकमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । दुर्घटनापछि एम्बुलेन्समा रहेका अन्य बिरामीहरूलाई अर्को एम्बुलेन्समार्फत चितवन पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write your Comment