आज:  २०८२ जेष्ठ २१, बुधबार | Wed, 04, Jun, 2025 Search
FLASH NEWS

बौदीकाली र बुलिङटारका युवालाई मोबाइल मर्मत तालिम

    प्रकाशित २०८२ जेष्ठ १९, सोमबार (२ दिन अघि)


नवलपुर । युवाहरूलाई सिप प्रदान गरी रोजगार सिर्जना गर्ने उद्देश्यले मोबाइल मर्मत तालिम प्रदान गरिएको छ । जिल्लाको बौदीकाली र बुलिङटारका युवाहरूलाई मोबाइल मर्मत तालिम प्रदान गरिएको हो । बौदीकाली र बुलिङटार गाउँपालिकाको समन्वय, मध्यविन्दु ट्रनिङ सेन्टरको समन्वय र असल छिमेकी नेपालको आयोजनामा तालिम प्रदान गरिएको हो ।


पैँतालिस दिनसम्म चलेको तालिमको आइतबार समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै सिकेको सिपलाई उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । सिकेको सिपले भविष्यमा आफ्नो परिवारलाई अगाडी लैजान मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समय तालिमहरू लिने तर त्यसको सदुपयोग गर्ने क्रम घट्दो रहेको बताउँदै यस्तो नगर्न उहाँले आग्रह गर्नुभयो । सो क्रममा बोल्दै उहाँले सिटिभिटिले प्रदान गर्ने तालिमको कोर्षनै परिमार्जन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । तथ्याङ्कमा हेर्दा तालिम लिने धेरै पुगेको देखिने तर त्यसको प्रयोग र उपभोग निक्कै कम भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । तालिम लिने क्रममा सामान्य रूपमा लिने र फिल्डमा काममा पुग्दा कतिपय काम गर्न नसक्ने अवस्था हुने गरेको समेत उहाँले बताउनुभयो ।


गाउँपालिकाले समेत दक्ष जनशक्ति निर्माणका लागि प्राविधिक शिक्षा पढ्न चाहनेलाई छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष ओझाले बताउनुभयो । यसका लागि अहिले विद्यालय तहमा समेत शैक्षिक सुधारका कार्य अघि बढाएको उहाँले बताउनुभयो । विद्यालयबाट राम्रो जनशक्ति तयार भए पछि प्राविधिक शिक्षाका लागि समेत तयार हुने हुँदा विद्यालय स्तर मानै शैक्षिक सुधारमा जुटेको उहाँले बताउनुभयो ।

युवाहरूका लागि रोजगार तथा उत्पादकत्व परियोजना कार्यक्रम अन्तरगत सिप प्रदान गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत पुरन सोतीले बताउनुभयो । यस परियाेजनाबाट ६० जनालाई मोबाइल मर्मत, सिलाई कटाई लगायतका सिप मूलक तालिम प्रदान गरिएको कार्यक्रम अधिकृत सोतीले बताउनुभयो ।माेबाइल मर्मत तालिममा भने उन्नाइस जना युवाहरु सहभागि रहेका थिए । तालिम लिनेहरूलाई रोजगारी र व्यवसायसँग जोड्नका लागि समेत भोलीका दिनमा काम गर्ने उहाँले बताउनुभयो ।


प्रशिक्षार्थीहरूले मोबाइल मर्मतको तालिमले आफूहरूलाई भोलीका दिनमा यस सम्बन्धी रोजगारीका अवसर प्राप्त हुने साथै व्यवसाय गर्न समेत सकिने हुँदा तालिम प्रभावकारी भएको बताएका थिए । तालिमको समापन कार्यक्रमको सञ्चालन असल छिमेकी नेपालका कार्यक्रम मेन्टोरिङ एन्ड मोविलाइजिङ सुपरभाइजर नवराज मजाकोटीले गर्नुभएको थियो ।

Write your Comment