पोखरा । इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समुहका पदाधिकारीका लागि क्षमता विकास तालिमको समुदघाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।
समुदायमा विभेदका घटनाहरु आइरहेका र पीडितलाई कानुनी रुपमा न्यायका लागि अधिकारकर्मीहरु सक्रिय हुनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । मानव अधिकार हननका घटनामा इन्सेक ले राज्यलाई ध्यानाकर्षण गराइरहेको र अभियानलाई निरन्तर रुपमा संचालन गरिरहेको उहाँले बताउनुभयो । गैरसरकारी संस्थाहरुले निरन्तर रुपमा मानव अधिकार प्रवर्द्धनका लागि काम गरिरहेका गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खडकाले बताउनुभयो ।
नवलपुर र कास्की जिल्लामा इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समुहका पदाधिकारीहरुलाई जेठ १७ र १८ गते क्षमता विकास तालिम गर्न लागिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिनुभयो । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत विगत तिनवर्ष देखि नवलपुरको देवचुली र मध्यविन्दु नगरपालिका साथै कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउँदै उहाँले स्थानीय समुदायलाई सचेत र जागरुक बनाउँदै मानव अधिकार प्रति स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि कार्यक्रम संचालन हुँदै आएको बताउनुभयो । दुई दिनसम्म मानव अधिकारको अवधारणा र मानव अधिकारको लागि मानव अधिकारकर्मीको भुमिका, महिला अधिकार र कार्यान्वयनको अवस्था, अपांगता भएका व्यक्तिहरुको अधिकार, जातीय विभेद विरुद्धको अधिकार, शुशासन प्रवर्द्धनका लागि नागरिक समाजको भुमिका, नेतृत्व विकास लगायतका विषयमा सहजीकरण गरिने उहाँले बताउनुभयो ।
प्रदेश मानव अधिकार संजालका गण्डकीका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा भएको तालिमको समुदघाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख नीतु गर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खडका, महिला अधिकार कर्मी सवनम शर्मा, प्रदेश मानव अधिकार संजाल, पालिका मानव अधिकार समुहका पदाधिकारीको सहभागिता रहेको छ ।