पोखरा । बालबालिकाले आफ्नो नैसर्गिक अधिकारको निर्बाध रुपमा उपयोग गर्न पाउनुपर्ने गण्डकी प्रदेश सभाका उप सभामुख बिनाकुमारी थापाले बताउनुभएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित बाल अधिकार समुहका पदाधिकारीका लागि क्षमता विकास तालिमको उदघाटन सत्रमा सो कुरा बताउनुभएको हो ।
बालबालिकाहरुले प्राप्त गरेका अवसरहरुलाई सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले बाल अधिकार प्रवर्द्धन गर्न गैरसरकारी संस्थाले सरकारलाई सहयोग गरिरहेको भनाई राख्नुभएको थियो । खेल क्षेत्रमा बालिकाको सहभागिता बढाउनुपर्ने, किशोरीलाई आत्मरक्षा तालिमको व्यवस्था गर्नका लागि सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । हिंसारहित समुदाय निर्माण गर्न सबै सहकार्य गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो ।
तालिमको उदघाटनमा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख नीतु गर्तौलाले देशको संवृद्धिका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताउनुभयो । अधिकार र कर्तव्यलाई सँगसँगै पालना भएमा मानव अधिकारको क्षेत्रमा सहज हुने उहाँले बताउनुभयो । कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएका श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाल, गैर सहकारी संस्था महासंघ गण्डकीका उपाध्यक्ष पदमराज पहारी, महिला अधिकारकर्मी सवनम शर्मा, बाल अधिकारकर्मी केशव पौडेलले बालबालिकाको क्षेत्रमा धेरै कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
कानुन कार्यान्वयनको पाटो कमजोर भएका कारण बालबालिकाको अधिकार हननका घटनाहरु घटिरहेका इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले बताउनुभयो । जेठ १५ र १६ गते दुई दिनसम्म संचालन हुने तालिममा बालश्रम अन्त्यका लागि के गर्ने, बाल श्रम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु, बाल अधिकार सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका बारेमा जानकारी, हिंसा न्यूनीकरणमा सरोकारवालाको भुमिका लगायतको विषयमा सहजीकरण गरिने उहाँले बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा गण्डकी प्रदेश सभाका उप सभामुख बिनाकुमारी थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख नीतु गर्तौला, श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाल, गैर सहकारी संस्था महासंघ गण्डकीका उपाध्यक्ष पदमराज पहारी, महिला अधिकारकर्मी सवनम शर्मा, बाल अधिकारकर्मी केशव पौडेल लगायत नवलपुर र कास्कीबाट बाल अधिकार समुहका पदाधिकारी, फोकल शिक्षकहरु लगायतको उपस्थितिमा रहेको थियो ।