पोखरा । गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेटको उपाधि नवलपुरले जितेको छ । गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा नवलपुर यू–१६ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको हो । उपाधि भिडन्तमा बलियो मानिएको कास्कीलाई नवलपुरले ६ विकेटले हराएको हो ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कास्की यू–१६ ले ३५ ओभरको निर्धारित इनिङ्समा जम्मा २८ ओभरमा १०५ रनमै समेटियो । ओपनर अनिकेत गजुरेलले ७२ बलमा ४९ रन बनाएर केही समयसम्म पारी सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरहरू टिक्न नसक्दा टोलीले सन्तोषजनक स्कोर बनाउन सकेन । नवलपुरका बलर सुसिल भुसालले ७ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै कास्कीको मध्यक्रम र तल्लोक्रम तहसनहस पारे । समीर रोका र सुजन अर्यालले २–२ विकेट लिएका थिए ।
१०६ रनको साधारण लक्ष्य पछ्याउने क्रममा, नवलपुर यू–१६ ले २६ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । समीर न्यौपानेले आक्रामक ब्याटिङ गर्दै २८ रन २६ बलमा प्रहार गरे भने अनिश भट्टराईले संयमित पारी खेल्दै २० रन (४७ बल) मा अविजित रहेर टिमका लागि जित सुनिश्चित गरे । कास्कीका बलरहरू सत्कार चालिसे, रिदम पाण्डे, सोनु यादव र सौरभ सिद्दीकीले समान १–१ विकेट लिए ।
प्रतियोगितामा तनहुँका सुप्रिम सुनार प्लेयर अफ दि सिरिज बने भने नवलपुरका खेलाडीद्वय समिर न्यौपाने वेष्ट व्याटर तथा शैलेस काफ्ले वेष्ट बलर घोषित भएका थिए । प्रतियोगितामा विभिन्न ६ जिल्लाको सहभागिता रहेको थियो ।