देवचुली । देवचुली नगरपालिकामा दलित महिला सदस्यका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा उप प्रमुखसँग महिला सशक्तीकरण कार्यक्रम अन्तरगत जेठ ६ गतेबाट संचालन भएको तालिमको शनिबार समापन गरिएको हो ।
देवचुली नगरपालिका सामाजिक विकास समितिका सदस्य फूलमाया बिकको अध्यक्षतामा भएको तालिमको समापन सत्रमा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्साल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी निर्मला पौडेल, प्रशिक्षक दिपक शर्मा, राजु चापागाई, निर्वाचित दलित महिला सदस्य लगायतको उपस्थितिमा तालिमको समापन गरिएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले तालिमलाई तालिममा मात्र सिमित नराख्न अनुरोध गर्नुभएको थियो । तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके मात्र तालिमको औचित्य सावित हुने उहाँको भनाई थियो । उहाँले समाजमा हुने विभिन्न हिंसा, विभेदका विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताउँदै समाजलाई महिलाहरुले नै सही बाटोमा हिडाउन सक्ने कुरा राख्नुभएको थियो । विभिन्न संघसंस्थाहरुमा महिलाहरुले नेतृत्व गर्नका लागि अगाडी बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।
५ दिनसम्म संचालन भएको तालिममा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि पत्रकार दयाराम आचार्य, राजु चापागाई र जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजीकरण गर्नुभएको थियो । तालिम निकै नै फलदायी भएको तालिममा सहभागीले बताउनुभयो । तालिममा दलित महिला सदस्य र अन्य दलित समुदायका महिलाहरु गरि २५ जनाको सहभागिता रहेको थियो ।