देवचुली । विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली ९ को नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । संस्थाको यही जेठ १५ गते तय गरिएको निर्वाचनमा १२ पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
संस्थाको अध्यक्षका लागि भरतराज आचार्य, यदुनाथ कंडेल र खेमनारायण पंगेनीले उम्मेदवारी दर्ता गरेका हुन् । संस्थाको उपाध्यक्ष पदका लागि शिवराज प्रधान श्रेष्ठ र प्रेमबहादुर गुरुङ , सचिवमा सृष्टि राना पुलामी र तुलसीराम अर्याल, कोषाध्यक्षमा किरण तामाङ र विमाया मगरले उम्मेदवार दर्ता गरेका छन् । त्यसै गरि कार्य समिति सदस्य महिला जनजाति तर्फबाट ज्ञानीमाया राई मगर र इश्वरी गाहा मगर, दलित महिला सदस्यमा फूलमाया कामी र सरस्वती बिक, महिला सदस्य अन्यमा गिताकुमारी भट्टराई र गिता पाध्य, कार्य समिति सदस्य खुलामा मोहनसिं दमै, सीता राना, टेकराज श्रेष्ठ र नेत्रलाल काफ्लेको उम्मेदवारी दर्ता भएको छ ।
संस्थाको लेखा समितिको संयोजकमा उमाकान्त भुसाल निर्विरोध निर्वाचित भएका छन् भने लेखा समिति महिला सदस्यमा रेनुका भुसाल भट्टराई र भिममाया खरु मगर साथै खुला सदस्यमा आनन्द आले र गिरबहादुर दमाई उम्मेदवार रहेका छन् । संस्थाको निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, कार्य समिति सदस्यमा जनजाती महिला, दलित महिला र अन्य महिला १/१ जना सदस्य साथै खुला सदस्य २ जना चयन गरिने साथै लेखा समितिको संयोजक सहित २ जना सदस्य चयन हुने निर्वाचन समितिका संयोजक नवराज घिमिरेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले जेठ ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन कार्य तालिका रहेको छ ।
५११ जना मतदाता रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको जेठ १५ गते कालिका माविको प्राङ्गणमा निर्वाचन हुने जनाइएको छ । १५ गते बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म मतदानको समय रहेको निर्वाचन समितिले जनाएको छ ।