नवलपुर । कावासोती नगरपालिकामा फुटबल प्रशिक्षक तालिम सुरु भएको छ । कावासोती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग, डायमण्ड युथ सोसाइटीको सह- आयोजना, पिठौली चौर युवा समितिको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा आजदेखि जेठ ८ गतेसम्म कावासोती- १२ पिठौलीमा क्याटोरी डी अन्तरगतको फुटबल प्रशिक्षक तालिमको संचालन गरिएको हो । तालिमको आज कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतले उदघाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उप प्रमुख थनेतले स्वास्थ्य रहनका लागि खेल आवश्यक रहेको बताउनुभयो । उहाँले कावासोती नगरपालिकामा सम्पुर्ण खेलका कार्यक्रम संचालनका लागि खेलकुद गठन गरिएको बताउँदै तालिमबाट फुटबलका प्रशिक्षकहरु तयार हुने र खेल क्षेत्रका विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिला खेलाडीहरु उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्दै उप प्रमुख थनेतले आगामी दिनमा प्रशिक्षक तालिममा महिलाहरुको सहभागिता हुनुपर्ने बताउनुभयो ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले तालिममा जुन उद्देश्य राखिएको छ सो उद्देश्य पूरा गर्नका लागि शुभकामना दिदै मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनका लागि समेत खेल आवश्यक हुने साथै तालिम पश्चात् प्रशिक्षकले युवा, विद्यार्थीहरुलाई जोडन आवश्यक रहेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले प्रशिक्षक तालिम संचालन गरेको आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा समेत विभिन्न खेलका प्रशिक्षकलाई उत्पादन गर्न आग्रह गर्नुभएको थियो ।
कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष तथा कावासोती-१२ का अध्यक्ष ध्रुव खनाल ( दिपेश) ले व्यवसायिक प्रशिक्षक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम पश्चात उत्पादन भएका प्रशिक्षकलाई व्यवसायिक रुपमा लाग्नका लागि नगरपालिकाले विशेष पहल गर्ने र आगामी दिनमा कावासोतीको खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो । आगामी दिनमा अन्य खेलका प्रशिक्षकहरुलाई तालिम संचालन गर्ने गरि योजना गरिने र खेलकुदका लागि सबैको सुझाव अनुसार कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो ।
कावासोतीका २० जना, जिल्ला अन्य पालिकाबाट १७ जना , चितवनबाट २ जना र काठमाडौंबाट १ जना गरि ४० जना सहभागी रहेको तालिमको एन्फाका प्रशिक्षक पंकज शाही र संजित सिंहले सहजीकरण गर्ने जनाइएको छ ।
तालिमको उद्घाटन सत्रमा कावासोती नगर खेलकुद विकास समितिका उपाध्यक्ष तिर्सन घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य मनिषा पौडेलले सहजीकरण गर्नुभएको थियो । तालिमको उद्घाटन सत्रमा खेल क्षेत्रमा आबद्ध विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।