चोरमारा । रेबिज (उन्माद) रोगको जोखिम न्यून गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपरासी (पूर्व) को आयोजना र मध्यविन्दु नगरपालिका पशु सेवा शाखाको समन्वयमा मध्यविन्दु नगरपालिकाको वडा नं. १५ मा रेबिज नियन्त्रण अभियान कार्यक्रम सुरु गरिएको छ। सामुदायिक कुकुरहरूको व्यवस्थापन र रेबिज नियन्त्रणका लागि सञ्चालन गरिएको उक्त कार्यक्रममा कुकुरहरूलाई समातेर रेबिजविरुद्धको खोप लगाइ पुनः सोही स्थानमा छोडिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाभित्रका जोखिमयुक्त क्षेत्र, विशेषगरी मानव बसोबास नजिक रहेका सामुदायिक कुकुरहरूको संख्या बढी रहेका पालिका र बफर जोन क्षेत्रलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमका संयोजक डा. विशाल डुम्रेका अनुसार, “यो अभियान मार्फत दुई दिनको अवधिमा करिब ३०० सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ। यसले गर्दा समुदायमा रेबिज रोगको जोखिम कम हुनुका साथै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्नेछ।” उनले थपे, “सामुदायिक कुकुरहरूको व्यवस्थापन र नियमित खोप कार्यक्रम नहुँदा रेबिज रोगको जोखिम बढिरहेको पाइएको छ। त्यसैले यस किसिमका शिविरले दीर्घकालीन रूपमा समुदायलाई सुरक्षित बनाउन मद्दत गर्नेछ।”
शिविरमा मध्यविन्दु नगरपालिका पशु सेवा शाखाका प्रमुख मदन घिमिरे, वडा नं. १५ का वडा सदस्य अर्चना कुमाल, कमल प्रसाद भट्ट, अमर सिंह ओली, भेटनरी प्राविधिकहरू र स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको थियो। उनीहरूले कुकुर समात्ने, खोप दिने, र कुकुरलाई पुनः छोड्ने कार्यमा सहयोग पुर्याएका थिए।
शिविरमा सहभागी जनप्रतिनिधि तथा स्थानीयबासीले पनि यस्ता कार्यक्रमले नगरपालिकामा रेबिज नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। वडा सदस्य अर्चना कुमालले भनिन्, “सामुदायिक कुकुरहरूलाई व्यवस्थित र खोप लगाउन सके मात्र रेबिजको जोखिम कम गर्न सकिन्छ। यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक छ।”
रेबिज रोग नियन्त्रणका लागि भेटनरी अस्पताल, स्थानीय तह र विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूको सहकार्यमा यस्ता अभियान सञ्चालन हुँदै आएका छन्। नेपालमा अझै पनि प्रत्येक वर्ष कुकुरको टोकाइबाट रेबिज रोगको जोखिम रहँदै आएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष दर्जनौं व्यक्तिको ज्यान रेबिजका कारण जाने गरेको देखिन्छ। त्यसैले पशुमा नियमित खोप कार्यक्रम सञ्चालन गर्नु र समुदायमा चेतना फैलाउनु अत्यन्त जरुरी रहेको विशेषज्ञहरू बताउँछन्।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आगामी दिनमा जिल्लाका अन्य जोखिमयुक्त स्थानहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ। यस अभियानले नगरवासीमा कुकुरसँगको सहअस्तित्व र जनस्वास्थ्य सुरक्षामा सघाउने अपेक्षा गरिएको छ।