देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने १ हप्ताको तालिम सम्पन्न गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा बैशाख २४ देखि ३० गतेसम्म संस्थाको कार्यालयमा संचालन भएको एक हप्ताको अचार बनाउने तालिम मंगलबार सम्पन्न गरिएको हो । संस्थाले सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको आर्थिक सशक्तीकरण कार्यक्रम अन्तरगत तालिम गरिएको हो ।
देवचुली नगरपालिकाका अपांगता भएका व्यक्ति वा उनीहरुको परिवारको सहभागिता रहने गरि तालिमको संचालन गरिएको सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्ले जानकारी दिनुभयो । अपांगता भएका व्यक्ति वा अंपाङ्गता भएका व्यक्तिका परिवारलाई आर्थिक विकास र समृद्धिको लागि आत्मनिर्भर र उद्यमशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षता भएको तालिमको समापन सत्रमा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप सचिव मुना अधिकारी, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तिलप्रसाद पाठक, सामाजिक व्यक्तित्व कमल वाग्ले लगायत आयोजक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले तालिममा सिकेका सीपलाई सही रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । विभिन्न प्रकारका अचार बनाएर बिक्री गर्न सकिने र सोबाट आर्थिक उपार्जन गर्न सकिने उहाँले बताउनुभयो । सहभागीहरुलाई समूह निर्माण गरि गुणस्तरीय अचार उत्पादन गर्न र उत्पादित अचारका लागि आवश्यक बजारीकरण गर्न नगरपालिकाले पहल गर्ने उहाँले बताउनुभयो ।
एक हप्तासम्म संचालन भएको तालिमको हिमाकुमारी सारु र नोममाया लम्सालले सहजीकरण गर्नुभएको हो। तालिममा विभिन्न प्रकारका अचारहरु बनाउन सिकाईएको थियो। समापन कार्यक्रममा सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप सचिव मुना अधिकारीले अपांगता भएका व्यक्तिहरुका लागि सीपमुलक तालिम दिइएको र आगामी दिनमा संस्थाबाट अझै सिर्जनात्मक काम गर्न सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँले प्रदेशमा कार्यक्रम माग गर्ने २२ संस्था मध्ये उत्कृष्टताको आधारमा सर्वोदयले कार्यक्रम संचालनका छनोट भएको र सहभागिहरुलाई व्यवसायिक बनाउन दर्ता प्रक्रियामा समेत सहयोग गरि आवश्यक सामाग्री प्रदान गरिने बताउनुभयो ।
देवचुलीका २३ जनाको सहभागिता रहेको तालिमको समापन सत्रमा आयोजक संस्थाका सदस्य लक्ष्मी बिकले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण आयोजक संस्थाका सचिव ठाकुर शर्माले गर्नुभएको थियो ।