देवचुली । देवचुली नगरपालिका वडा न ९ विशालटारमा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारण सभा सम्पन्न भएको छ भने आठौं अधिवेशन सुरु भएको छ। शनिबार कार्यालय परिसरमा संस्थाका अध्यक्ष मोहनबहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको समुद्धाटन गर्नुभएका प्रमुख अतिथि न्यौपानेले आफ्नो मन्तव्य राख्दै विशालटार खानेपानी क्षेत्रभित्रका कुनै पनि विपन्न घरधुरीलाई खानेपानीबाट बन्चित नगर्न अनुरोध गर्नुभयो। खानेपानीको सदुपयोग गर्दै एकपटक प्रयोग गरेको पानीलाई पुन:प्रयोग गरि करेसाबारी र कृषिजन्य उत्पादनमा प्रयोग गर्नपर्नेमा उहाँले जोड दिनुभयो। विशालटार खानेपानीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ इकाइ कार्यालय कावासोतीका प्रमुख महेन्द्रराज आचार्य, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, नेपाली काँग्रेस देवचुली ९ का सभापति कृष्ण आले, नेकपा एमाले देवचुली ९ का अध्यक्षमा मेखबहादुर थापा सारु मगर, घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती रावल, संस्थाका सल्लाहकार दिपक भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोहन बहादुर आलेले अध्यक्षको प्रतिवेदन, सचिव भरतराज आचार्यले निति तथा कार्यक्रम,प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णमाया सिंजालीले आर्थिक प्रतिवेदन र लेखा संयोजक खगराज कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा संस्थाको प्रगतिमा विभिन्न समयमा टेवा पुर्याउने व्यक्ति तथा संघसंस्थालाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
साधारण सभाको बन्द सत्रले बोरिङ सम्म जाने बाटोको व्यवस्था गर्न आवश्यक छ्लफल अगाडि बढाउने, पाइपलाइनको थप विस्तार गर्ने, आवश्यक ठाउँमा थप गेटबलहरु फिटिङ गर्ने, आवश्यक ठाउँमा ग्याविन जाली लगाई मुहान तथा पाइपलाइन सुरक्षित गर्ने, कम्प्युटर प्रणाली मार्फत इनभेन्टरीको व्यवस्था गर्ने, कार्यालय परिसर र खानेपानीको टयांकी परिसरमा फुलबारी निर्माण, संस्थालाई थप १/१ वटा बोरिङ र टिट्मेन्ट पलान्टको माग गर्ने, लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने लगाएतका निर्णय गरेको छ।
संस्थाका अध्यक्षले वर्तमान कार्यसमितिको विघटन गरेपछि उपस्थित भेलाले कालिका मा.वि.का प्रधानाध्यापक नवराज घिमिरेको संयोजकत्वमा देवचुली ९ का वडा कार्यालयका सचिव केशव भुसाल र कालिका माध्यमिक विद्यालयका शिक्षक मन्जु नेपाली परियार सदस्य रहने गरि ३ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। भेलाबाट अधिवेशनको प्रक्रियालाई निर्वाचन कमिटीले अगाडि बढाउने गरी जिम्मेवारी प्रदान गरिएको छ।
विशालटार खानेपानीले देवचुली नगरपालिका वडा नम्बर ९ का ६ सय घर परिवारलाई खानेपानीको वितरण गर्दै आइरहेको छ । साधारण सभाको उदघाटन कार्यक्रमको संचालन संस्थाका सचिव भरत आचार्यले गर्नुभएको थियो ।