देवचुली । अभिषेक चर्च रजहरद्वारा चितवन र नवलपुरका क्लबहरुलाई खेल सामग्री वितरण गरेको छ । बिहीबार अभिषेक चर्च रजहरको सभाहलमा दुई जिल्लाका २५ क्लबलाई फुटबल, भलिबल र जर्सी वितरण गरिएको हो ।
खेलकुदको क्षेत्रमा सक्रिय रहेको अभिषेक चर्च रजहरले खेलाडीहरुको आत्मबल बढाउन र खेल क्षेत्रबाट पनि युवाहरुलाई अघि बढ्न सकिन्छ भन्ने उद्देश्यका साथ फुटबल, भलिबल र जर्सी वितरण गरिएको चर्चका पाष्टर सुकलाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुर जिल्लाका विभिन्न क्लबहरु र भरतपुरका क्लबहरुलाई उपहार स्वरुप खेलकुद सामाग्री वितरण गरिएको हो । कार्यक्रममा विभिन्न क्लबबाट १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
अभिषेक चर्च रजहरले जिल्ला तथा राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । खेलकुदको क्षेत्रमा देशव्यापी रुपमा परिचित बन्दै गएको चर्चद्वारा आगामी दिनमा समेत क्लबहरुलाई सहयोग गरिने जनाएको छ ।