देवचुली । देवचुली ७ मा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितिले ज्येष्ठ नागरिक सम्मान गरेको छ । अक्षय तृतीयाको अवसर पारी समितिले मन्दिर क्षेत्र वरिपरि रहेका ८० वर्ष माथिका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
मन्दिरको हलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई दोसल्ला सहित नगद र फलफूल प्रदान गरि सम्मान गरिएको हो । मन्दिर क्षेत्र वरिपरि रहेका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला गराई उहाँहरुले सामाजिक विकासमा गरेका योगदानलाई सम्मान गर्दै अक्षय तृतीयाको अवसरमा कार्यक्रम गरिएको राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष घनलाल भुसालले जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै आफ्ना क्षेत्रका ज्येष्ठ नागरिकहरु एकजुट हुने अवसर समेत कार्यक्रमबाट भएको बताउनुभयो । समितिद्वारा आज दिउँसो ३ बजेसम्म अखण्ड भजन समेत गरिने उहाँले बताउनुभयो ।
राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष घनलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारीहरु, ज्येष्ठ नागरिकहरु, स्थानीयहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले गर्नुभएको थियो ।