देवचुली । देवचुली नगरपालिकामा संचालित चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार गैंडाकोट फुटबल क्लब र अभिषेक चर्च रजहरबीच प्रतिष्पर्धा हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान देवचुली १७ मा फागुन ९ गतेबाट संचालन भएको प्रतियोगिता अन्तरगत शनिबार फाइनल खेल हुने भएको हो ।
अभिषेक चर्च रजहरले पहिलो सेमिफाइनल खेलमा पटिहानी फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो भने गैंडाकोट फुटबल क्लबले प्रगतिकला मन्दिर युवा क्लबलाई दोस्रो सेमिफाइनलमा २-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
नवलपुर, चितवन र पश्चिम नवलपरासीका १५ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।