आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

देवचुली ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्रयोग गर्न दिने मन्त्री परिषद्को निर्णय

    प्रकाशित २०८१ श्रावण ३०, बुधबार (१ महिना अघि)


देवचुली । देवचुली ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्रयोग गर्न दिने नेपाल सरकारको निर्णय गरेको छ । साउन १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले देवचुली ट्रमा सेन्टर निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । वन तथा वातावरण मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले देवचुली १७ मा रहेको झरही सामुदायिक वनको २ हेक्टर जग्गामा देवचुली ट्रमा सेन्टर निर्माणका लागि प्रयोग गर्ने दिने निर्णय गरेको हो ।

जग्गा प्राप्तिसँगै लामो समयदेखि अन्योलका बिच देवचुलीमै ट्रमा सेन्टर बन्ने बाटो खुलेको हो । लामो समयदेखि पहल गरिएको ट्रमा सेन्टरका जग्गा प्राप्त भएपछी देवचुली नगरबासीहरुका लागि खुसीको क्षण भएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नगरबासीको सपनाकै रुपमा रहेको ट्रमा सेन्टर निर्माण गर्ने अभियानमा नेपाल सरकारको निर्णयले सहयोग गरेको भन्दै सबै मिलेर ट्रमा सेन्टर निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । जग्गा प्राप्ति र ट्रमा सेन्टरका लागि बजेट विनियोजन गर्नका लागि महत्त्वपूर्ण भुमिका खेल्नुहुने सबैप्रति धन्यवाद दिदै नगर प्रमुख न्यौपानेले आगामी दिनमा अझै सहयोग/सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।

देवचुलीमा ट्रमा सेन्टर निर्माण गर्नका लागि आवश्यक जग्गा प्राप्तिका लागि नगर कार्यपालिकाले निकै पहल गरेको र सबै पक्षबाट सहयोग प्राप्त भएको देवचुली नगर उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । अब ट्रमा सेन्टर निर्माणको प्रक्रिया अगाडि बढ्ने र चाँडै नै ट्रमा सेन्टर निर्माण हुने कुरामा विश्वास बढेको उहाँले बताउनुभयो ।

देवचुली १७ मै बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिने भएपछि वडा तथा नगरबासीमा खुसी छाएको देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले बताउनुभयो । नवलपुरकै लागि गौरवको योजनाको रुपमा रहेको ट्रमा सेन्टर आफ्नै वडामा बन्ने सुनिश्चित भएको उहाँले बताउनुभयो ।

Write your Comment