आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

भीमसेनद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

    प्रकाशित २०८१ श्रावण २१, सोमबार (१ महिना अघि)


देवचुली । भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा २०८० मा जिल्ला प्रथम भएको अवसरमा विद्यालयले बधाई, शुभकामना कार्यक्रम गर्दै विद्यार्थी सँगै शिक्षकहरुलाई समेत सम्मान गरेको हो । विद्यालयमा सोमबार आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने शिक्षकहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भीमसेन आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षता भएको सम्मान कार्यक्रममा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, जनज्योति कलेजका अध्यक्ष होमनाथ जैसी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष सत्यनारायण भुसाल, घनलाल भुसाल, पुर्व प्रधानाध्यापक नरदेव न्यौपाने लगायत विद्यार्थी अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

भीमसेनबाट रुष्मा थापा क्षेत्रीले ३.८३ जिपिए, सुरज प्रसाद पराजुलीले ३.६९ जिपिए, पुष्पा जैसीले ३.६८ जिपिए, शिक्षा पाण्डेले ३.६४ जिपिए, प्रेजना पाण्डेले ३.६२ जिपिए गरि ३.६ जिपिए माथि ल्याउने ५ जना विद्यार्थी रहेका छन् । त्यसै गरि २४ जनाले ३.२ देखि ३.६ जिपिए, ५९ जनाले २.८ देखि ३.२ जिपिए, ४१ जनाले २.४ देखि २.८ जिपिए र ५ जनाले २ देखि २.४ जिपिए ल्याएर विद्यार्थी उत्तीर्ण भएका छन् । भीमसेनकै रुष्मा सामुदायिक विद्यालयतर्फ नवलपुर जिल्लामै प्रथम हुन सफल भएकी छन् ।

सम्मान कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले भीमसेनले सदैव उत्कृष्ट नतिजा ल्याउँदै आएको बताउँदै आगामी दिनमा समेत उत्कृष्ट नतिजा ल्याउनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

Write your Comment