आज:  २०८२ भाद्र २२, आईतबार | Sun, 07, Sep, 2025 Search
FLASH NEWS

आज राति खग्रास चन्द्रग्रहण: रातो चन्द्रमा देखिने अवसर

    प्रकाशित २०८२ भाद्र २२, आईतबार (४ घण्टा अघि)


नवलपुर।  आज भदौ २२ गते, भाद्र शुक्ल पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्दैछ। यस वर्षको पहिलो चन्द्रग्रहण भएको कारण यसले खगोलशास्त्रका प्रेमी र सामान्य दर्शकबीच पनि ठूलो उत्सुकता सिर्जना गरेको छ। नेपाल, भारत, एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले यस अनौठो खगोलीय घटना अवलोकन गर्न सक्ने अपेक्षा गरिएको छ।

खग्रास चन्द्रग्रहणको समयमा चन्द्रमा रातो देखिने भएकाले यसलाई प्रायः ‘ब्लड मुन’ पनि भनिन्छ। वैज्ञानिक दृष्टिले यसको कारण पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई छर्ने हुँदा रातो प्रकाश मात्र चन्द्रमामा पुग्छ। यसैले आकाशमा रातो चम्किलो चन्द्रमा देखिनेछ, जुन दृश्यले दर्शकलाई रोमान्चक अनुभव दिनेछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भएर राति १:४१ बजे समाप्त हुनेछ। मौसम स्पष्ट रह्यो भने काठमाडौंबाट करिब साढे तीन घण्टा यो चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।

खगोल विज्ञानका अनुसार चन्द्रग्रहण तब घट्छ जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँछन्। पृथ्वीको छायाले चन्द्रमामा पर्दा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ। पूर्ण ढाकिएमा खग्रास चन्द्रग्रहण, आंशिक ढाकिएमा खंडग्रास चन्द्रग्रहण भनिन्छ।

धार्मिक मान्यताअनुसार ग्रहणको समयमा पूजापाठ, खाना खान वा अन्य सामान्य क्रियाकलाप नगर्न सिफारिस गरिएको छ। तर वैज्ञानिक दृष्टिले यसलाई प्राकृतिक खगोलीय घटना मानिन्छ र सुरक्षित अवलोकनका लागि दूरबीन वा विशेष फिल्टर प्रयोग गर्न सुझाव दिइन्छ।

यसै वर्षको फागुन शुक्ल पूर्णिमामा पनि अर्को खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकोले खगोलशास्त्रमा चन्द्रग्रहणले अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण अवसर दिनेछ।

Write your Comment