आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

मुस्लिम समुदायले आज बकर इद पर्व मनाउँदै

    प्रकाशित २०८१ अषाढ ४, सोमबार (४ महिना अघि)


काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाउँदै छन् । रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । महिलाहरुले भने घरमै नमाज पढ्ने गर्छन् । काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको आज भीड लाग्ने गर्छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।बकर इदको समयमा जीवनको एक पटक मक्का मदिना हज गर्न जानु पुण्य प्राप्ति हुने विश्वास छ ।

त्यहाँ जान नपाउनेले भने घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिन्छन् । कुर्बानी गरिएको पशुको मासुलाई तीन भागमा बाड्नु पर्ने धार्मिक मान्यता छ । मुस्लिम धर्मावलम्बीले आगामी बुधबारसम्म तीन दिन यो पर्व मनाउने छन् । पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Write your Comment